धनगढीलाई हराउँदै पोखरा फाइनलमा

Manoj Shiama
24 April, 2025 3:50 am

पोखरा थन्डर्ससँग पराजित भएपछि धनगढी एफसी लगातार तेस्रो संस्करण नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुग्न असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार भएको दोस्रो क्वालिफायरमा पोखरासँग यस अघिका दुवै संस्करणमा पुगेको धनगढी १–० ले पराजित भएको हो । इन्जुरी समयमा समालिन नसक्दा धनगढीले यसपल्ट पनि उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन । पोखराका लागि स्टेफन बिनोङले गोल गरे । पोखराले फाइनलमा ललितपुर सिटी एफसीसँग १३ वैशाखमा खेल्नेछ । 

शीर्ष दुईमा रहेर पहिलो क्वालिफायरमा पुगे पनि धनगढी फाइनलमा पुग्न असफल भयो । पहिलो क्वालिफायरमा ललितपुरसँग पराजित भएको थियो । त्यसअघि खेलको सातौँ मिनेटमा पोखराले पहिलो अवसर बुन्यो । समीर तामाङले पेनाल्टी बक्सबाट गरेको फितलो प्रहार धनगढीका गोलकिपर वालिद बिरौउले सहजै नियन्त्रणमा लिए ।

धनगढीले पनि १४औँ मिनेटमा पहिलो अवसर बनाएको थियो । ओलावाले आफिजले गोल गर्न सकेनन् । अहमद हिजाजीको पास पेनाल्टी बक्सभित्र अन मार्क आफिजले फितलो प्रहार गरे । २०औँ मिनेटमा पोखराको आक्रमण सफल हुन सकेन । करिब १८ यार्डबाट समीरको पहिलो सट धनगढीका गोलकिपर वालिदले फुत्काएका थिए । तर, त्यो रिबाउन्ड समीरले भेट्टाउनुअघि नै वालिदले नियन्त्रणमा लिए । ३९औँ मिनेटमा पोखराका सेडोस्टोन डिजाफारोभको फ्रिकिक प्रहार पनि पोस्टको दिशामा रहन सकेन ।

पहिलो हाफको थप समयमा धनगढीको उत्कृष्ट अवसरमा पोखराका गोलकिपर गुइलौमे प्रिसोले उत्कृष्ट बचाउ गरे । हिजाजीले दिएको उत्कृष्ट कट ब्याकमा पेनाल्टी बक्सबाट दीपेश राईको सशक्त सट प्रिसोले पन्च गरे । रिबाउन्ड बल पनि धनगढीका खेलाडीको खुट्टामा परेन । त्यसपछि पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो । दोस्रो हाफ पनि पोखराले लामो दूरीबाट सट प्रहार गर्दै अग्रता लिने प्रयास ग¥यो । जोइ आइडुले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार बारभन्दा केही माथिबाट बाहिरियो । ६४औँ मिनेटमा पोखराको उत्कृष्ट अवसर धनगढीका गोलकिपर वालिदले असफल बनाए । सुदिल राईको हेडर पासमा स्टेफन बिनोङको हेडर वालिदले रोक्दै धनगढीको संकट टारे ।

८१औँ मिनेटमा सुदिलको सशक्त प्रहार पनि वालिदले पन्च गर्दै असफल पारे । आयुष घलानको लामो पास नियन्त्रणमा लिँदै सुदिलले करिब १५ यार्डबाट गरेको प्रहार धनगढीका गोलकिपर वादिलले रोकेका हुन् । धनगढीका जर्जप्रिन्स कार्कीले लामो दूरीबाट गरेको प्रहार पोखराका गोलकिपर प्रिसो सहजै नियन्त्रणमा लिए । ८४औँ मिनेटमा गौरव श्रेष्ठले दोहोरो पहेँलो कार्ड पाएपछि पोखरा १० खेलाडीमा सीमित भयो ।

इन्जुरी समयमा स्टेफन बिनोङको हेडर गोलबाट पोखराले अग्रता लियो । आयुस घलानले कर्नरबाट दिएको बललाई बिनोङले पहिलो बार च्याप्दै गोल गरेका हुन् । त्यसपछि धनगढीले गोल फर्काउन सकेन र पोखराले साँघुरो जित निकाल्यो ।