पोखरा दोस्रो क्वालिफायरमा

पोखरा थन्डर्स आइतबार इलिमिनेटरमा उत्कृष्ट जित सहित नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा एफसी चितवनमाथि ३–० को जित सहित पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँगको भेट पक्का गरेको हो । पोखराको जितमा जोइ आइडुले २ गोल गरे । १ गोल भने आत्मघातीको रूपमा पोखराले पायो । धनगढी शनिवार पहिलो क्वालिफायरमा ललितपुर सिटीसँग २–१ ले हार बेहोरेको थियो । पोखराले इलिमिनेटरमा चितवनलाई हराउँदै लिगको पहिलो खेलमा नै बेहोरेको हारको बदलासमेत लियो । लिगमा पोखरा चितवनसँग २–० ले पराजित भएको थियो । यसपल्ट भने १३ मिनेटको अन्तरमा तीन गोल गर्दै पोखराले चितवनमाथि जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा नै सकिएको थियो । तर, दोस्रो हाफमा भने पोखराले तीन गोल ग¥यो ।
अब पोखराले दोस्रो क्वालिफायरमा आगामी बुधवार धनगढीसँग खेल्नेछ । त्यसअघि खेलको छैटौँ मिनेटमा नै पोखराका आइडुको उत्कृष्ट प्रहार चितवनका गोलकिपर अमल नाइटले विफल बनाए । आयुष घलानको पास नियन्त्रणमा लिँदै आइडुले करिब २२ यार्डबाट गरेको सशक्त प्रहार चितवनका गोलकिपर अमलले पन्च गर्दै संकट टारे । ११औँ मिनेटमा पनि आइडुले नै अर्को अवसर बुने पनि सफल भएन । यसपल्ट पनि उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पहिलो बार नजिकबाट बाहिरियो । १६औँ मिनेटमा पनि आइडुले पेनाल्टी बक्सबाट गरेको अर्को प्रहार पोस्टको दिशामा रहन सकेन ।
चितवनका सुमित श्रेष्ठले २४औँ मिनेटमा अग्रता दिलाउने सुन्दर अवसर खेर फाले । लामो पास नियन्त्रणमा लिँदै उनको पेनाल्टी बक्स नजिकैबाट लेफ्ट फुटेट सटलाई पोस्टको दिशा दिन सकेन । ३०औँ मिनेटमा चितवनका नीरज चौधरीको बाई साइकल किक पनि पोखराका गोलकिपर गुइलौमे प्रिसोले सहजै नियन्त्रणमा लिए । त्यसपछि पहिलो हाफमा पनि गोल निस्किएन र गोलरहित बराबरी भयो । दोस्रो हाफको सुरुमा नै चितवनका रोशन राना मगरले गरेको प्रहार सफल हुन सकेन । ४६औँ मिनेटमा उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोखराका गोलकिपर प्रिसोले सहजै रोके ।
चितवनका टोरिक जेबरिनले ६१औँ मिनेटमा गरेको दोस्रो बार च्याप्दै गरेको प्रहार सफल भएन । तर, ६३औँ मिनेटमा अभिषेक लिम्बूको आत्मघाती गोलबाट पोखराले अग्रता लिएका थियो । पेनाल्टी बक्स बाहिरबाट स्टेफन बिनोङको सशक्त प्रहार चितवनका गोलकिपर अमलले पन्च गरे । सोही बल नियन्त्रणमा लिँदै समीर तामाङले गरेको क्रसलाई क्लियर गर्ने क्रममा अभिषेक आफ्नै पोस्टमा गोल गर्न पुगे । यो गोलसँगै चितवन दबाबमा प¥यो । ७२औँ मिनेटमा आइडुको उत्कृष्ट गोल मार्फत पोखराले अग्रता दोब्बर बनायो । पेनाल्टी बक्स बाहिरबाट आइडुको लेफ्ट फुटेट चिफ सट माथिल्लो बारमा लागेर गोलमा परिणत भयो । उनको त्यो सट चितवनका गोलकिपर अमलले पत्तै पाएनन् ।
७६औँ मिनेटमा पोखराले तेस्रो गोल सामना गरेपछि चितवन पूर्ण दबाबमा प¥यो । चितवनका डिफेन्डरले पेनाल्टी बक्समा आइडुलाई मार्क गर्न नसक्दा उनले सहजै गोल गरेका हुन् । पोखराले ३–० को अग्रता लिएसँगै खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो । चितवनका जेबरिनको ८३औँ मिनेटमा गोल गर्ने सुन्दर अवसरमा पोखराका गोलकिपर प्रिसोले सफल हुन दिएनन् । करिब १८ यार्डबाट उनको सशक्त प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे । त्यसपछि चितवनले आक्रमण बुने पनि गोल भने गर्न सकेन र इलिमिनेटरमा नै यात्रा टुङ्गाउन बाध्य भयो ।