ललितपुर सिटी फाइनलमा

ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिवार सम्पन्न पहिलो क्वालिफायरमा साबिक उपविजेता धनगढी एफसीविरुद्ध २–१ को जित हात पार्दै १० खेलाडीमा सीमित ललितपुर फाइनलमा प्रवेश गरेको हो ।
ललितपुरले अब दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ । धनगढीले भने फाइनमा फर्किन इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवन भिड्नेछन् । ललितपुरको जितमा केर्भेन्स बेलफोर्ट र इबु केबेले गोल गरे । धनगढीका जर्जप्रिन्स कार्कीले गोल गरे । ललितपुर खेलको १६औँ मिनेटमै १० खेलाडीमा सीमित भएको थियो ।
ललितपुरका मणिकुमार लामा र धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहम्मद अल जाउलीनी बिच विवाद भए पछि मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि सिधै रातो कार्ड दिएका हुन् । मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए । मणिले फाइनल गुमाउने छन् ।
ललितपुरले ५७औँ मिनेटमा सुरुआती अग्रता लिएको थियो । पापे डायकिटेलाई बिना कारण धनगढीका जर्ज कासेइडोले बक्स लाइनजिक हात र खुट्टा तानेर लडाएका थिए । मुख्य रेफ्री बिडारीले फ्रिकिक दिएपछि धनगढीका टेक्निकल डाइरेक्टर भोलानाथ सिलवालले फोर्थ अफिसियल दनुवारप्रति असन्तुष्टि पोखेका थिए । सो फ्रिककलाई हाइटीका फरवार्ड बेलफोर्टले सिधै गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाएका थिए ।
धनगढीका गोलकिपर वालिद बिरोउले फ्रान्ट पोस्टतिर मुभ चालिसकेका थिए । बेलफोर्टले सेकन्डबारतिर शक्तिशाली प्रहार गर्दै सजिलै गोल गरेका हुन्। जारी लिगमा उनको यो पहिलो गोल हो ।
खेलमा अग्रता लिइसकेको ललितपुरले डिफेन्समा भने सुधार गर्न सकेन। त्यसैको फाइदा उठाउँदै धनगढी ६१औँ मिनेटमा खेलमा फर्किएको थियो । सर्जियो बार्बोजाको कर्नरबाट आएको बललाई कप्तान देवेन्द्र तामाङले हेडर गर्दै ललितपुरको पोस्टसामु लगेका थिए ।
सो बललाई अनन्तले हेडर गर्दै क्लियर गरे पनि सिक्स यार्ड बक्सभन्दा पर पुगेन । जसको फाइदा जर्ज प्रिन्सले उठाए । उनले दोस्रो टचमा हाफ भलीमार्फत गोल गरेका हुन् । उनी एक मिनेटअघि मात्रै दीपेश राईको स्थानमा मैदान छिरेका थिए ।
७९औँ मिनेटमा ललितपुरले खेलमा पुनः अग्रता लियो। फ्रान्स फरवार्ड पापाले मैदानको बिच भागमा बल प्राप्त गरेका थिए । उनले धनगढीका कप्तान देवेन्द्रसहित चार डिफेन्डरको बिचबाटै फ्रि सट प्रहार गर्दै गोल गरे । खेल सकिए लगत्तै धनगढीका कासेइडोले पनि रातो कार्ड पाए । उनले ललितपुरका खेलाडीसँग बहस गरेपछि दोस्रो पहेँलोसहित रातो पाएका हुन् । ललितपुरका पापले पनि रातो कार्ड पाएका छन् । अन्तिम समयमा भने धनगढी र ललितपुरका म्यानेजमेन्टबिच हात हालाहालको स्थिति देखिएको थियो । उनीहरूलाई साम्य बनाउन प्रहरी नै परिचालन गर्न परेको थियो ।