चितवन पहिलो पटक एनएसएलको प्ले अफमा

एफसी चितवन पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा चितवनले धनगढी एफसीलाई ३–१ ले हराएको हो । सो सफलतासँगै चितवन १० अङ्क सहित समूह चरणमा तेस्रो भयो । ललितपुर एफसी १२ अङ्क सहित पहिलो तथा धनगढी एफसी ११ अङ्क सहित दोस्रो भए । अन्तिम खेलमा कमसेकम बराबरी आवश्यक रहेको अवस्थामा चितवन पहिलो चितवन सातौँ मिनेटमा नै पछि परेको थियो ।
प्रिन्स जर्ज कार्कीले लामो दुरीबाट सानदार गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । १४ औ मिनेटमा नर्देभिक माभ्लानोभाभले पेनाल्टीमा गोल गर्दै चितवनलाई खेलमा फर्काए । दोस्रो हाफको पाँचौँ मिनेटमा धनगढीका अमृत श्रेष्ठले आत्मघाती गोल गरे ।
कार्लोस नेपाल नआउने
एनएसएलको आयोजक नेपाल स्पोट्र्स म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै कार्लोस पूर्व निर्धारित समयमा नेपाल नआउने बताएको छ ।
आकस्मिक बिरामीका कारण कार्लोस पूर्व निर्धारित समयमा नेपाल आउन नसक्ने एनएसएलले बताएको हो । उनी शुक्रवार एनएसएलको पहिलो क्वालिफायर म्याचमा प्रमुख अतिथिको रूपमा नेपाल आउने कार्यक्रम तय गरिएको थियो ।
उनी शुक्रवार पूर्व निर्धारित कार्यक्रममा नआउने एनएसएलले प्रस्ट पारेको थियो । अर्को समय तालिकाको लागि कार्लोसको टिमसँग छलफल भइरहेको एनएसएलले जनाएको छ ।
ब्राजिली लिजेण्ड कार्लोस हेर्ने र भेट्ने इच्छा सहित टिकट लिएका दर्शक र समर्थकका लागि एनएसएलले दुई विकल्प दिएको हो । टिकट रद्द गरेर पैसा फिर्ता लिने र अर्को तालिकामा कार्लोसलाई हेर्ने विकल्प आयोजकले दिएको छ । यसअघिको सिजनमा समेत फुटबल लिजेण्ड डिडयर ड्रोग्बा एनएसएल हेर्न नेपाल आउने प्रचार गरिएको थियो ।