पुरुषोत्तमको उत्कृष्ट प्रदर्शन

नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको चौथो चरणका खेल सम्पन्न भएका छन् । नेपाल बुद्धिचाल महासङ्घको कार्यक्रम  अनुसार काठमाडौँको होटेल ले हिमालय, लाजिम्पाटमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।  

 नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले गणेशमान सिंह स्मृति चेस, राष्ट्रिय बी छनौट चेसमा झैँ यस राउन्ड रोविन प्रतियोगितामा पनि आफ्नो जीवनको उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् । उनले ४ चरणको समाप्तिमा शत प्रतिशत जीत सहित अग्रता कायम गरेका छन् । 

तेस्रो चरणमा उनले पूर्व राष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ तथा चौथो चरणमा डिफेन्डीङ च्याम्पियन रुपेस जयसवाललाई हराए । सिलवालले २११२ रेटिङबाट खेल सुरु गरेका थिए । उनले ३ खेलमा नै  ३६ रेटिङ वृद्धि गरी सकेका छन् । प्रतियोगितामा राजन सुबेदीले ३ अङ्क जोडेका छन् । उनले तेस्रो चरणमा राजीव कार्की तथा चौथो चरणमा क्षितिज भण्डारीलाई हराए । 

यसै गरी अर्का युवा खेलाडी एआईएम सुश्रुत दाहाल २ दशमलव ५ अङ्क सहित दोस्रो स्थानमा छन् । तेस्रो चरणमा सिएम मिलन लामालाई हराएका उनी चौथो चरणमा सुशील चौधरीसँग पराजित भए । प्रकाश नेपालको पनि २ं दशमलव ५ अङ्क छ । तेस्रो चरणमा प्रेमकृष्ण महर्जनलाई हराएका उनले चौथो चरणमा सुरोज महर्जनसँग बराबरी गरे ।  

मिलन लामा, क्षितिज भण्डारी, सुशील चौधरी र राजीव कार्कीको २ अङ्क छ ।    प्रतियोगितामा खराब प्रदर्शन गरिरहेका वर्तमान नेपाल च्याम्पियन एफएम रूपेश जयसवाल दोस्रो चरणमा राजीव कार्की र तेस्रो चरणको खेलमा क्षितिज भण्डारी सँग पराजित भए । उनी चौथो चरणमा पुरुषोत्तमसँग पराजित भएका हुन् । 

जैसवालको शून्य दशमलव ५ अङ्क छ । पूर्व च्याम्पियन केशव श्रेष्ठको १ अङ्क छ । सुरोजको १ दशमलव ५ अङ्क छ । 

महिला तर्फ ३ खेलाडीको अग्रता 

   लुम्बिनी इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा सञ्चालन भइरहेको ९ औँ महिला राष्ट्रिय च्याम्पियनसिपमा पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङका शान्ति धिमाल र कास्कीका पूजा भण्डारी ४ अङ्कका साथ संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्। 

सिन्दिराले भक्तपुरकी सविना गुजःल र प्रगन्ना किबन्यायोलाई हराएकी हुन् । शान्तिले सुशीला गुरुङ र सबिनालाई हराइन् । पूजाले आइतबार विनीता र रिया श्रेष्ठलाई पराजित गरेकी हुन् । 

२४ औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न कूल अनुमानित खर्च १३ लाख ५० हजार रहेको प्रतियोगिता आयोजक कमिटीका संयोजक दिपेन राईले बताए । 

सो खर्च व्यवस्थापनका लागि विभिन्न कर्पोरेट हाउस,  स्थानीय तह र अन्य दाता एवं सहयोगी सङ्घ संस्थाहरू सँग समन्वय गरिएको जानकारी गराए । 

यस राष्ट्रिय प्रतियोगिताको खुल्ला तर्फ ३ जना र वुमन तर्फ ४ जना छनौट भई हंगेरीको बुढापेष्टमा सेप्टेम्बर १०–२३ सम्म हुने ४५ औँ चेस ओलम्पियाडमा सहभागिता निश्चित गर्ने राईले बताए ।

Comment