राष्ट्रिय चेस च्याम्पियनसिप सुरु

काठमाडौं । नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा राष्ट्रिय चेस च्याम्पियनसिप शनिवार सुरु भयो । प्रतियोगिताको पहिलो दिन शनिवार सम्पन्न खुल्लातर्फको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी, यूथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सिएम मिलन लामा, धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदी जित निकाल्दै समान १–१ अङ्क अङ्क जोड्न सफल भएका छन् । 

क्षितिजले निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा पूर्व नेपाल च्याम्पियन काठमाडौँका केशव श्रेष्ठलाई पराजित गर्दा पुरुषोत्तमले दोलखाका राजीव कार्की, मिलनले काठमाडौँका प्रेम महर्जन, सुशीलले झापाका प्रकाश नेपाल र राजनले ललितपुरका सुरोज महर्जनलाई निराश पारे । त्यस्तै वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल उत्कृष्ट लयमा रहेका सुश्रुत दाहालसँग बराबरीमा रोकिँदै अङ्क बाँड्न बाध्य भए ।

राउन्ड रोविन प्रणालीमार्फत सुरु भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङकी शान्ति धिमाल, कास्कीकी पूजा भण्डारी, काठमाडौँकी विनीता कपाली, रिया श्रेष्ठ र पर्साकी सुशीला गुरुङ जित निकाल्न सफल भएकी छिन् । 

सिन्दिराले भक्तपुरकी श्रेया दुवाललाई पराजित गर्दा शान्तिले नेसनल बी छनोटमा उत्कृष्ट प्रदर्शन गरी पहिलो स्थानमा रहेर छनोट भएकी राष्ट्रिय चेस च्याम्पियनसिप खेलिरहेकी झापाकी कृतिसारा अधिकारीलाई हराइन् भने विनीताले अंशु प्रजापतिमाथि जित हात पारिन् । त्यसै गरी रियाले झापाकी पुनम प्रसाईँ र सुशीलाले भक्तपुरकी सविना गुजलाई पराजित गरिन् ।

लुम्बिनी इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक सुबोधराज शेर्पालीको सभापतित्वमा भएको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र वरिष्ठ सङ्गीतकार शम्भु जित बाँसकोटाले संयुक्त रूपमा चेसको गोटी चालेर प्रतियोगिताको सुरुवात गरेका थिए । 

उद्घाटन समारोहमा बोल्दै सदस्यसचिव घिसिङले बुद्धिचाल खेल व्यावसायिक रूपमा अघि बढेको र यो नेपालको लोकप्रिय खेल रहेको बताएका थिए । यस्तै नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेलको विकास विद्यालय स्तरबाटै हुने भन्दै यो खेललाई राष्ट्रपति रनिङ शिल्डमा समावेश गर्नुपर्ने विषयमा जोड दिएका थिए । उद्घाटन समारोहमा प्रतियोगिताका संयोजक तथा नेपाल बुद्धिचाल महासङ्घका वरिष्ठ उपाध्यक्ष दिपेन राईले स्वागत मन्तव्य राखेका थिए । 

काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा जेठ २४ गते अर्थात् ६ दिनसम्म चल्ने प्रतियोगितामा नेसनल बी बाट छनौट भएका खुल्ला र महिलातर्फ ९–९ जना, २३ औँ नेसनल च्याम्पियनसिपका विजेता र उपविजेता महिला तथा पुरुषतर्फका समान ३–३ गरी २४ जना खेलाडी सहभागी छन् । 

यस च्याम्पियनसिपबाट खुल्लातर्फ शीर्ष तीन जना र महिलातर्फ उत्कृष्ट चार गरी ७ जना खेलाडी हंगेरीको बुडापेस्टमा आगामी सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औँ चेस ओलम्पियाडका लागि छनौट हुनेछन् । 

नेपाल बुद्धिचाल महासङ्घका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार प्रतियोगिताको आर्थिक व्यवस्थापनका लागि भक्तपुरस्थित हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रालि, ओम क्वालिटी फाइबर ग्लास एन्ड ग्रील मेटल इण्ड प्रालि, काठमाडौं, प्रभु बैङ्क, ग्लोबल आइएमइ बैङ्क, नेपाल टेलिकम, रुक्मिणी टुर्स एन्ड ट्राभल्सको प्रायोजन गरेको छ ।

Comment