बहराइनसँग नेपालको हार

फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोट अन्तर्गत दोस्रो चरणको चौथो खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियममा बुधवार बिहान सकिएको खेलमा नेपाल बहराइनसँग ३–० गोल अन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोल गरे ।

समूह ‘एच’मा रहेको नेपालको यो लगातार चौथो हार हो । गत ८ चैतमा बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।त्यसअघि नेपालले युएईविरुद्ध ४–० गोलको हार बेहोरेको थियो भने यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छ भने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ । ९ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

Comment