नेपाल फराकिलो अन्तरले पराजित

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ । रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गरेको थियो । खेलको सुरुवातमै नेपाल सम्हालिन नपाउँदै बहराइनले गोल गरेको थियो । नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो । घरेलु मैदानमा खेल्ने तय थियो दशरथ रङ्गशालाको अवस्था विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि खेल बहराइनमै खेलाइएको हो । नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार रिफामै खेल्नेछ ।

खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । मोहमद मारहुनको पास सदुपयोग गर्दै हुमाएदानले गोल गरे ।  नवौँ मिनेटमा सायद बकेरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे । 

यस्तै पहिलो हाफमाको इन्जुरी टाइमको तेस्रो मिनेटमा अलि मादनले गोल गर्दै बहराइनलाई ३–० को अग्रता दिलाए । 

  ८७औँ मिनेटमा इब्राहिम अल खतलले गोल गर्दै बहराइनलाई ४–० को अग्रता दिलाए । त्यसपछि इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा इस्माइल अब्दुल लतिफले गोल गर्दै बहराइनलाई ५–० को जित दिलाए ।

चार खेलाडीको डेब्यु

बहराइन विरुद्धको खेलमार्फत नेपालका चार खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । अभिषेक लिम्बु, सौभाग्य (सन्जित) राई तथा फरवार्ड द्वय समीर तामाङ र सञ्जीव विष्टले डेब्यु गरेका हुन् । सञ्जीव बाहेक बाँकी तीनै खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए र पहिलो टुरमै डेब्यु गर्ने अवसर पाए ।

युवा डिफेन्डर अभिषेक लिम्बुले पहिलो रोजाइमै खेल्दै डेब्यु गरे । यस्तै सौभाग्य राई हाफ टाइममा सुमित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । युवा फरवार्ड समीर ७९औँ मिनेटमा हिसाब थपलियाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।  समीरले केही महिनाअघि घरेलु मैदानमा साफ यु१९ च्याम्पियनसिप खेलेका थिए । तर समीरले धेरै समयमा मैदानमा बिताउन भने पाएनन् ।

उनैलाई रिप्लेस गर्दै  अर्का फरवार्ड सञ्जीवले ८८औँ मिनेटमा डेब्यु गरे । लामो समयपछि राष्ट्रिय टिममा कम ब्याक गरेका भरत खवासले पनि ८८औँ मिनेटमा मनिष डाँगीको स्थानमै मैदान प्रवेश गरेका थिए ।

Comment