एनआईएमबीलाई आरआरबीएल–ईशान कप

नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) ले आरबीबीएल–ईशान कप तेस्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । राष्ट्रिय वाणिज्य बैङ्कको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (ईशान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित गरेको हो । एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले २ गरे । उपाधिसँगै एनआईएमबीले ५० हजार नगद पुरस्कार पायो । आयल निगमले ३० हजार रुपैयाँ पुरस्कार पायो ।

आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोस्रो पटक हो । दोस्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पराजित भएको थियो । पहिलो संस्करणको उपाधि एभरेस्ट बैङ्क लिमिटेडले जितेको थियो । सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैङ्क लिमिटेड तेस्रो भयो । नेपाल बैङ्कले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो । रञ्जन बराल र सुदीप सुवेदीले समान १–१ गोल   गरे । नेपाल बैङ्कले २० हजार नगद पुरस्कार हात पारे । प्रतियोगिताभर ९ गोल गरेका एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने । एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए । राष्ट्रिय वाणिज्य बैङ्कले अनुशासित टिमको उपाधि हात पारेको हो । विजेतालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैङ्कका नायब कार्यकारी प्रमुख देवेन्द्र रमन खनाल, इसानका अध्यक्ष राम विनय श्रेष्ठ, तत्कालीन पेस्डानका अध्यक्ष कुलप्रसाद आचार्यलगायतले पुरस्कृत गरे ।

तीन दिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । ईशान स्थापना भएपछि संस्थाको यो पहिलो खेलकुद प्रतियोगिता हो । ईशानअघि यो संस्था सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) को नाममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता थियो । नयाँ खेलकुद ऐन अनुसार पेस्डान राखेपमा नवीकरण गर्न नमिल्ने भएपछि आगामी दिनमा खेलकुद गतिविधिलाई निरन्तरता दिने उद्देश्यसाथ ईशानलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको हो । पेस्डानले विभिन्न खेल समावेश गरी १३ औँ संस्करणको खेलकुद प्रतियोगिता आयोजना गरिसकेको थियो ।

Comment