फुटबल टोलीको बिदाइ


विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत बहराइनविरुद्धको दुवै लेगको खेल प्रतिद्वन्द्वी देशकै मैदानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सूचना सार्वजनिक गर्दै दुवै लेगको खेल बहराइनको घरेलु मैदानमा हुने जानकारी गराएको हो । बहराइनविरुद्धको पहिलो लेगको खेल नेपालमा हुने तालिका थियो । नेपालमा रहेको दशरथ रंगशालाको खराब अवस्थाका कारण बहराइनले उजुरी गरेको थियो ।
एएफसीको अनुगमनपछि नेपालले बहराइनविरुद्धको होम म्याच गुमाउने पक्का भएको थियो । त्यसपछि न्युट्रल भेन्युका लागि एन्फाले पहल गर्ने बताएको थियो । अन्तिममा नेपालले न्युट्रल भेन्युको सट्टा बहराइनमै दुवै लेगको म्याच खेल्ने बताएको छ । ८ चैतमा पहिलो लेगको खेल र १३ चैतमा दोस्रो लेगको खेल बहराइनमा हुनेछ । छनोट खेलको तयारी स्वरूप नेपालले मलेसियामा २ चैतमा मैत्रीपूर्ण फुटबल खेल्ने छ ।
त्यस तर्फ जाने टोलीको मंगलबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा बिदाइ भएको छ । बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, एन्फा सदस्य तथा महिला कमिटी संयोजक सरला श्रेष्ठ मलेखु, एन्फा सदस्य पुरुषोत्तम थापा, मन्रीराज विष्ट तथा प्रमुख कार्यक्रम कार्यकारी अधिकृत इन्द्र मान तुलाधर लगायतको उपस्थिति थियो ।

Comment