कबड्डीको सुपर लिग सुरु

अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा पुरुष तथा महिला कबड्डी सुपर लिग बुधवार देखी त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

पहिलो दिन पुरुषमा नेपाल आर्मीले एपीएफलाई ३९–२२ ले पराजित ग¥यो । आर्मीका प्रदीप मिजार ‘म्यान अफ द म्याच’ घोषित भए । पुरुषमै नेपाल प्रहरी क्लबले उपत्यका टोलीबाट वाक ओभर पाएको आयोजकले जनाएको छ ।

नारी दिवसका अवसरमा आयोजित प्रतियोगिताको महिलामा प्रहरीले एपीएफलाई ३८–३० ले हरायो । प्रहरीकी मान मति विष्ट ‘वोमन अफ द म्याच’ चुनिइन् ।

प्रतियोगिताको राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पीताम्बर तिम्सिनाले एक कार्यक्रमबिच उद्घाटन गरे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार नगद पुरस्कार प्राप्त गर्ने कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ ।

पुरुषमा ४ र महिलामा ३ टिम सहभागी छन् । सिङ्गल राउन्ड रोविनमा शीर्ष २ स्थानमा रहने टिमबिच उपाधि भिडन्त हुनेछ । प्रतियोगिता शनिवार सम्पन्न हुनेछ ।

Comment