दोलखा र ललितपुरको अग्रता

नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको तेस्रो चरणको खेल सकिँदासम्म आयोजक ललितपुर स्पोर्ट्स क्लब ६ अङ्कसहित शीर्ष स्थानमा रहन सफल भएको छ ।  

तेस्रो चरणमा ललितपुरले लुम्बिनी इभेन्ट म्यानेजमेन्टलाई हराएको हो । राजन सुवेदीले सीएम मिलन लामालाई, रिसोन थापाले कुशल बेलिबासेलाई र आयुष देमन रौराले रिया श्रेष्ठमाथि जित हात पारे । सरोज महर्जनले भने डिभाइस सातमा राखेर खेल्दा अयोग्य घोषित भई अङ्क गुमाउन पुगे । 

दोलखा चेस होमको पनि ६ अङ्क छ । दोलखाले तेस्रो चरणमा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घलाई २.५ –१.५ ले हराएको हो । रुपेस जयसवाल र पुरुषोत्तम सिलवाल बिच बराबरी भयो भने अर्को खेलमा राजेश कक्षपती र सुस्रत दाहालको बिचमा पनि बराबरी भयो । तेस्रो बोर्डमा मुहान नरसिंह श्रेष्ठ र स्वर्णिम दुवालको बिचमा पनि बराबरी भयो । सुजना लोहनीले अभिषेक शाहलाई पराजित गरिन् ।  

प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टिमले पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यसै गरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरूलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ७० हजार रहेको छ । २८ पुसमा समापन हुने प्रतियोगिताको पुरस्कार वितरण प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । 

Comment