पाठकको उल्लेखनीय कदम

नेपाल हक्की सङ्घमा विवाद बढेको छ । हक्की प्रशिक्षक राजेन्द्र पाठकले सङ्घका गतिविधिमा केही असन्तुष्टि रहे पछि सूचना माग गरेका छन् । पाठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई सम्बोधन गर्दै ५ पुसमा दर्ता गराएको पत्रमा हक्कीको नाममा अहिलेसम्म निकासा भएको रकमको सूचना माग गरेका छन् । साथै उनले सन् २०१९ को जुलाई १५ देखि २१ सम्म थाइल्यान्डको बैंककमा आयोजना भएको पुरुष तथा महिला एसिया कप हक्की प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलको नामावली माग गरेका छन् । 

उनले सोही प्रतियोगिताका लागि भएको छनोट प्रक्रियाको प्रतिलिपि समेत माग गरेका छन् । यसै गरी उनले सन् २०१८ को डिसेम्बर १७ देखि २२ सम्म भएको हएर हक्की सिरिजमा नेपालबाट प्रतिनिधीत्व गर्ने खेलाडी तथा अफीसियलको नामावलीका साथै छनोट प्रक्रियाको प्रतिलिपि समेत माग गरेका छन् । उनले यी दुवै प्रतियोगितामा प्रशिक्षक तथा अफीसीयलले राष्ट्रिय खेलकुद परिषद्बाट पाएको सुविधाका बारे पनि माग गरेका छन् । 

नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अपारदर्शी छनोट प्रक्रिया, गैर सरोकारवालाको उपस्थिति तथा खेलाडीले नपाएको सुविधा प्रशिक्षक र अफीसियलले पाउने गरेको गुनासो धेरै भए पनि यसमा विरलै आवाज उठ्ने गरेको छ । 

Comment