‘एनएसएलले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउनेछ’

नेपाल सुपर लिग (एनएसएल) को आयोजकले शुक्रवारदेखि सुरु हुने दोस्रो संस्करणमा उत्कृष्ट फुटबल देखाउँदै नेपाली फुटबल एक पटक फेरि दर्शकको उपस्थितिलाई बाक्लो बनाउने लक्ष्य रहेको बताएको छ ।

नेपाली फुटबलको पहिलो फ्रेन्चाइज प्रतिस्पर्धा एनएसएलको दोस्रो संस्करणमा आगामी शुक्रवारदेखि सुरु हुँदै छ । दोस्रो संस्करणदेखि ९ वटा फ्रेन्चाइज टोलीले चुनौती प्रस्तुत गर्ने तय छ । बुधवार एनएसएलको आयोजकले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै दोस्रो संस्करणलाई उच्च स्तरमा आयोजनामा लैजान प्रयत्न गर्ने बताएको छ । एनएसलको पहिलो आयोजना दुई वर्ष सम्पन्न भएको थियो । कोरोना महामारीका कारण पहिलो संस्करण बन्द रङ्गशालाबिच सम्पन्न हुन पुग्यो ।

त्यसैले दोस्रो संस्करणमा नेपालीलाई समर्थकलाई घरेलु फुटबलमा नयाँ अनुभूति दिने प्रयास गर्ने आयोजकको विश्वास छ । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का निर्देशक श्रेयन्स कार्कीले ठुलो आर्थिक चुनौतीकाबीच पनि फ्रेन्चाइज टोलीहरूको सहयोग र आम समर्थकको चासोका कारण दोस्रो संस्करणलाई भव्य बनाउने बताए । उनले एनएसएल नेपाली फुटबलको शीर्ष डिभिजन सहिद स्मारक लिगको प्रतिस्पर्धी नभएको उल्लेख गर्दै यो आयोजनाबाट नेपाली फुटबललाई नयाँ स्तरमा लैजान मद्दत लैजाने उद्देश्य रहेको धारणा राखे ।

पहिलो संस्करणमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा तीन नयाँ टोली थपिएको छ । तर, पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करणबाट हात झिकेको छ । त्यसैले एनएसएलमा फ्रेन्चाइज टोली अस्थिरबारे निर्देशक कार्कीले व्यक्तिगत कारणले त्यस्तो हुन गएको पनि स्पष्ट पारेका छन् ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेयता कार्की चौधरीले एनएसएललाई नेपाली फुटबल विकासको सारथिका रूपमा अगाडि बढाउने उद्देश्यअनुरूप आयोजना गरिएको उल्लेख गरिन् । यस संस्करणमा दर्शकको उपस्थिति बढाउने आयोजकले आकर्षक रूपमा आयोजना गर्ने उद्घोष गरेको छ । इङ्लिस फुटबल लिग चेल्सीका लिजेन्ड डिडियर ड्रोग्बालाई दोस्रो संस्करणको दौरान नेपालमा ल्याउने आयोजकले जनाएको छ । साथै फुटबलका अन्य हस्तीलाई पनि ल्याउने आयोजकले उल्लेख गरेको छ ।

यस संस्करणमा भारतका तीन जना रेफ्रीको पनि सहभागिता रहने भएको छ । यस पटक इलाम स्पोर्टिङ, झापा एफसी र वीरगन्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दै छन् । गत संस्करणको टोली काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि चुनौती प्रस्तुत गर्दै छन् । बुधवार नै भएको पत्रकार सम्मेलनमा अधिकांश टोलीले छोटो समयको तयारीका बाबजुद उत्कृष्ट फुटबल प्रदर्शन गर्ने उल्लेख गरेका छन् ।

पहिलो संस्करणमा काठमाडौं रेजर्सले उपाधि जितेको थियो । यस पटक ९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । आयोजकले उपाधि विजेताका लागि अहिलेसम्म पुरस्कार तय नभएको पनि उल्लेख गरेको छ । यद्यपि, ७५ लाख रुपैयाँ नगद पुरस्कार या त्यो भन्दा पनि बढी हुन सक्ने आयोजक एनएसइएमका निर्देशक कार्कीले बताए । कुल ४० वटा खेल नै दशरथ रङ्गशालामा हुनेछन् । राम्रो मैदानको अभाव रङ्गशालामा नै सबै खेल खेलाउन बाध्य भएको आयोजकले जनाएको छ । 

Comment