प्रशिक्षकका पनि प्रशिक्षक सञ्जित

५० को दशकको अन्त्यमा ग्यालेक्सी क्लब नेपाली फुटबलमा सनसनी फैलाउन सफल भएको थियो । सोही क्लबको नेतृत्व सञ्जित सिंहले गरेका थिए । नेपाली फुटबलको विभिन्न आरोह अवरोहमा बिच सञ्जित नेपालका पायनीयर फुटबल खेलाडी त हुन सकेनन् । परन्तु, नेपाली फुटबलको प्रशिक्षण विधामा सञ्जितको भूमिका महत्त्वपूर्ण र प्रभावकारी छ । हाल उनी अहिले नेपाल फुटबल सङ्घ(एन्फा)मा हेड अफ कोच एजुकेसनको जिम्मेवारीमा छन् । नेपालको सबै भन्दा लोकप्रिय खेल फुटबलमा प्रत्येक जिल्ला र गाउँ तहसम्म प्रशिक्षक उत्पादनमा उनको भूमिका सक्रिय छ । 

२०५८ सालमा खेलाडी जीवनबाट संन्यासको घोषणा गरेका उनको प्रशिक्षण कार्य एएफसी सी लाइसेन्स कोर्ससँगै भएको थियो ।सन्यास अघि नै उनले केही सी लाइसेन्स कोर्स गरे पछि उनी धनुषामा स्थानीय क्लबहरूमा सक्रिय रहे । राष्ट्रिय स्तरमा नाम चलेका जनक सिंह थारु कुनै समय उनकै प्रशिक्षणमा थिए । यसै गरी नेपाली फुटबलमा कुनै समय छाएका क्लास फरवार्ड चेतन घिमिरेका पनि उनी प्रशिक्षक हुन् ।

सञ्जितको खेलाडी जीवनको अन्त्यमा हुनुमा चोट नै प्रमुख कारण बनेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको स्पोर्ट्स टिचर कोर्स र  एनआइएस कोर्समा उनी सहभागी भए । एनआइएस कोर्समा उत्कृष्ट भएका थिए । यो कुरा थियो, सन् २०१० को । 

२०१४मा उनी जर्मनीमा पुगेर फुटबल डिप्लोमा कोर्स गरे । यस पछि नेपाली फुटबलका सञ्जित सिंह फुटबल प्राज्ञ झैँ नै भए । फुटबलका अध्ययनशील व्यक्तित्व उनले जिम्मेवारी पाउन भने लामो समय सङ्घर्ष गर्नु परेको थियो । 

सातौँ राष्ट्रिय खेलकुदमा उनले प्रशिक्षण गरेको मध्यमाञ्चल टाइब्रेकरमा नेपाल आर्मी क्लबसँग सेमिफाइनलमा पराजित भएको थियो । राष्ट्रिय खेलकुदका लागि अल्पकालीन करार प्रशिक्षकको रूपमा उनले सो जिम्मेवारी पुरा गरेका थिए । 

सञ्जितले एएफसी बी लाइसेन्स कोर्स सन् २०१५ तथा सन् २०१७ मा एएफसी ए लाइसेन्स कोर्स गरे । सोही वर्ष गोल किपिङको लेभल वान कोर्स गरे । सन् २०२१ मा फिटनेसको लेभल वान कोर्स गरे । 

यी सम्पूर्ण अध्ययन र लगनशीलता नेपाली फुटबलमा प्रशिक्षकीय जिम्मेवारीका लागि पर्याप्त  थियो । एन्फामा एक वर्ष हेड अफ ग्रारुरुटको जिम्मेवारी पाएका उनले सन् २०१९ देखि हालसम्म हेड अफ कोचेज एजुकेसनको जिम्मेवारी सम्हाली रहेका छन् । 

यस पछि उनी निरन्तर फुटबल विकासमा सक्रिय छन् । प्रशिक्षकहरूलाई प्रशिक्षण गराउन मात्र होइन, आफै अध्ययनमा पनि उनी त्यत्तिकै तल्लीन छन् । 

उनको बिचारमा नेपाली खेलकुद योजना सहित ढङ्गले चलेको छैन । ग्रास रुट, यूथ फुटबल र कोचेज एजुकेसनको राम्रो योजना भएमा फुटबल विकास असम्भव छैन । सरोकार वाला सबैको प्रतिबद्धता तथा मेहनतले यो सम्भव भएको उनको मत छ । 

Comment