एनएमबी–कपअन अन्तर स्कुल फुटबल प्रतियोगिता हुने

एनएमबी–कपअन अन्तर स्कुल यु–१४ फुटबल प्रतियोगिता २४ देखि २६  साउनसम्म बुढानीलकण्ठ नगरपालिका– १० स्थित कपनमा रहेको कपअन स्पोर्ट्स सेन्टरमा हुने भएको छ ।

इन्डोर फुटबल ग्राउन्डमा तीन दिन सञ्चालन प्रतियोगिताका लागि आयोजक कपअन स्पोर्ट्स सेन्टरले बुधवार एनएमबी बैङ्कसँग प्रायोजक सम्झौता गरेको छ । सम्झौता–पत्रमा कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर (बद्री) भट्टराई र एनएमबी बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे । कपन स्पोर्ट्स सेन्टरले आफ्नै इन्डोर फुटबल ग्राउन्ड (बालुवा खानी, कपन) सहित राजधानीका विभिन्न स्थानमा युवा खेलाडी उत्पादनका लागि काठमाडौं किकर्स फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने, ‘ग्रास रुट फुटबलको विकासको लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा साथ दिनुभएकोमा देशकै अग्रणी वित्तीय संस्था एनएमबी बैङ्क धन्यबाटको पात्र बनेको छ ।ं ’ भट्टराई अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का उप महासचिव समेत हुन् । 

आयोजक कपअन स्पोर्ट्स सेन्टरले प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा विद्यालयका छात्रको टिम एनएमबी –कपअन अन्तर स्कुल यु –१४ फुटबल प्रतियोगितामा सहभागी हुने जानकारी गराएको छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ । उपाधि विजेता, उपविजेता,तथा तेस्रो हुने टिमसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पुरस्कार प्रदान गरिने छ ।

Comment