सुनिललाई यूथ टोलीको जिम्मेवारी

नेपालमा यूथ परियोजनाका परिचित नाम,सुनिल श्रेष्ठ । नेपालका धेरै स्टार खेलाडीको नजरमा युवा अवस्थाका मन पर्ने प्रशिक्षक । धेरै पटक उनले यु–१६ फुटाल टोलीको जिम्मेवारी सम्हाले । काठमाडौँमा भएको यु–१४ फुटबल फेस्टीबल उनको पहिलो सफलता थियो । 

खेलाडीको रूपमा राष्ट्रिय टोलीको ढोका ढकढक्याइ रहेको समयमा ५० को दशकको सुरुवातमा वीरगन्जको अमात्य गोल्ड कपको दौरान उनको गोडामा चोट लागेको थियो । खेलाडीको रूपमा मैदानबाट टाढा रहे पछि प्रशिक्षकको जिम्मेवारी सम्हालेका उनले सुरुवाती दिनमा एन्फाको परियोजना अन्तरगत ज्ञानोदय बालबालटीकामा काम गरेका थिए । त्यसै टोलीबाट कम उमेरमै सन्दीप राई र सन्तोष गुरुङले व्यावसायिक क्लब मात्र होइन राष्ट्रिय टोलीमा प्रवेश पाएका थिए । 

त्यस विद्यालयसँगको साइनो छुटे पनि एन्फाको परियोजनामा उनी प्रभावकारी थिए । आफैले बिताएको क्लब जावउलाखेलमा व्यवस्थापकीय जिम्मेवारी पुरा गरेका उनको क्लबका तेस्रो स्पेलको आगमन प्रशिक्षकको रूपमा भएको थियो । मोफसलमा फुटबलको विकास गर्ने क्रममा उनले सर्लाहीको बाग्मती यूथ क्लबलाई नयाँ गोरेटोमा लगेका थिए । जावलाखेल क्लबको परिचय नेपाली फुटबलमा फरक किसिमको छ । अस्थिर क्लब जावलाखेल प्राय मीड टेबलमा रहन्छ । यदाकदा रेलिगेसनको जोखिममा पर्छ । कहिले कहीँ उपाधि माथि धावा पनि बोल्छ । यस पटकको लिगमा अस्थिर रहेको थियो । महँगो र नाम चलेका खेलाडी भित्र्याउने खर्चालु क्लबको रूपमा जावलाखेल क्लबको छवि थिएन । यसका बाबजुद पहिलो लेगमा अग्रता कायम गरेको थियो । दोस्रो लेगमा कमजोर प्रदर्शन गरे पछि क्लब चौथो स्थानमा झरेको थियो । 

जे होस यस यादगार र सनसनीपूर्ण यात्राको बिचमा सुनिलले आइतबार यु–१९ टोलीको जिम्मेवारी बहन गरे । यसै जिम्मेवारीसँगै उनकै प्रशिक्षणमा नेपालले ४ देखि १३ असोजमा काठमाडौँमा हुने साफ यु–१९ फुटबल च्याम्पियनसिपको सामना गर्ने छ । 

यस अघि काठमाडौँमा भएको यु–१९ फुटबलमा नेपालले उपाधि जित्दा पनि सुनिल प्रशिक्षण टोलीमा थिए । यस पटक जाउलाखेलको लिग यात्रामा सुनिलले आफूलाई थप प्रमाणित गरी सके । विद्यालय तह र किशोर वयमा धेरै खेलाडीको मनमा उनले बास गरी सकेका छन् । आशा गरौँ पछिल्लो जिम्मेवारीमा पनि उनी सफल हुने छन् । 

Comment