पहिलो खेलमा नेपालको हार

उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाली टोली एएफसी यु–१७ महिला एसियन कप छनोटको इरानसँग बुधवार भएको खेलमा १–० ले पराजित भएको छ । अम्मानको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपाल ३ पटक गोलको नजिक पुगेर पनि चुकेको थियो । पहिलो हाफमा नेपाल दुई पटक गोलको नजिक पुगेको नेपालले दोस्रो हाफमा पनि त्यत्तिकै उत्कृष्ट अवसर गुमाएको थियो ।

गोलरक्षक फतेमी सालेहको उत्कृष्ट प्रदर्शनमा अघि बढेको इरानका लागि ८० औ मिनेटमा वैकल्पिक खेलाडी एरिसा कोद गर्दले गोल गरिन् ।  

खेलको दौरान उत्कृष्ट प्रदर्शन गरी रहेका नेपाल १७ औ मिनेट तथा ४० औ मिनेटमा गोलको नजिक पुगे पनि इरानी गोलरक्षक फतेमी सालेहले उत्कृष्ट ढङ्गले दुवै पटक टोलीको संकट टारेकी थिइन् । ४० औ मिनेटमा सेनु परियारको प्रहार सालेहले बचाए पछि नेपाली टोली चुक चुकाउन बाध्य भएको थियो ।

त्यसो त दोस्रो हाफमा शुक्रीया मिया पनि एक पटक गोलको नजिक पुगेर चुकेकी थिइन् । दोस्रो हाफको सुरुवातमा इरान हाबी भए पनि रेनु लिम्बुलाई भावना परियारले प्रतिस्थापन गरे पछि नेपाल सम्हालिएको थियो । नेपालको अर्को परिवर्तनको रूपमा ७५ औ मिनेटमा पुनमको स्थानमा सुशीला केसीलाई मैदानमा प्रवेश गराएको थियो ।

८० औ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा एरिसा कोरा गर्दले गोल गरे पछि नेपाल पछि परेको थियो ।  

खेल पछि प्रतिक्रिया दिँदै नेपालका प्रशिक्षक विष्णु गुरुङले टोलीका हरेक खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका बताए । उनले खेलमा रहेका कमजोरी जोर्डनसँग शुक्रवार हुने खेलमा सच्चिने विश्वास व्यक्त गरे । 

अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने एएफसी यु–१७ महिला फुटबलका लागि आयोजक देशका साथै गत संस्करणमा शीर्ष तीन स्थान पाउने जापान, उत्तर कोरिया र चीन छनोट भइसकेका छन् । 

पहिलो चरणमा सबै देशलाई  ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट पहिलो हुने टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिने छ । दुवै समूहको शीर्ष दुई टोली अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने प्रतियोगिताको अन्तिम चरणमा सहभागिता जनाउने छन् ।

Comment