रुपेश र सुजना नेपाल च्याम्पियन 

नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको खुल्ला तर्फको उपाधि फिडे मास्टर रुपेश जयसवाल र महिलातर्फको उपाधि वोमेन फिडे मास्टर सुजना लोहनीले हात पारेका छन् ।  रुपेशले  ८ खेलमा जीत र १ खेलमा बराबरी खेली साढे ८ अङ्क सहित नयाँ नेपाल च्याम्पियन हुन सफल भए भने  साढे ८ अङ्क नै जोडेकी यसअघि पनि महिला नेपाल च्याम्पियन रहेकी सुजनाले उपाधि रक्षा गर्न सफल भइन् । साथै दुवैले नगद २५÷ २५ हजार हात पारे ।

रुपेशले फाइनल चरणको खेलमा झापाका राजन सुवेदीलाई पराजित गरेका थिए भने सुजनाले काठमाडौँका सिन्दिरा जोशीलाई हराइन् ।

पूर्व नेपाल च्याम्पियन सुरवीर लामा उप विजेता भए भने फिडे मास्टर क्षितिज भण्डारी तेस्रो स्थानमा रहे। दुवैले साढे ६ अङ्क जोडेका थिए । रुपेश सुरवीर र क्षितिज २०२४ मा हुने राष्ट्रिय प्रतियोगिताको लागि पनि छनौट भएका छन् । सुरवीरले १५ हजार क्षितिजले १० हजार नगद पाए ।

दिव्यास् मल्ति प्रोडक्सनको मुख्य प्रायोजनमा र रुक्मिणी टुर्स ट्राभल्सको सह प्रायोजनमा भएको प्रतियोगिताको महिलातर्फ १५ हजार नगद प्राप्त गरेकी पर्साकी सुशीला गुरुङ र मोरङकी शान्ति धिमाल तेस्रो स्थानमा रही १० हजार नगद पाइन् ।  साढे ५ अङ्क जोडेका  सुशीला र शान्ति बिचको नवौँ चरणको खेल बराबरीमा टुङ्गिएको  थियो ।

सुजना सहित सुशीला र शान्ति पनि आठौँ महिला राष्ट्रिय प्रतियोगिताको लागि छनौट भइन् ।

रुपेश र सुजनाले बङ्गलादेशमा यही मे मा हुने वर्ल्ड कप साइकल एसियन जोनल ३. २ च्याम्पियनसिप, काजकिस्तानमा हुने एसियन च्याम्पियनसिप र हंगेरीमा हुने ४५ औँ चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् । विजेता खेलाडीहरूलाई पूर्व  सभामुख कृष्णबहादुर महराले  पुरस्कृत गरे । 

५ वैशाखदेखि सञ्चालन भएको प्रतियोगितामा खुल्ला र  महिलातर्फ १०÷१०  जना खेलाडीहरूको सहभागिता रहेको थियो भने राउन्ड रोबिनको आधारमा प्रतियोगिता भएको थियो ।

Comment