रुपेश र सुजनाको अग्रता

नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी म्यानेजमेन्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको बिहीबार तेस्रो र चौथो चरणको खेल सकिँदा शीर्ष वरियताका खेलाडी फिडे मास्टर रुपेश जैशवालले एकल अग्रता लिएका छन् ।

रुपेशले २१ औँ राष्ट्रिय प्रतियोगिताका विजेता  पुरुषोत्तम चौलागाईलाई पराजित गरे भने चौथो चरणको खेलमा तेस्रो चरणको खेलसम्म राम्रो लयमा रहेका १४ वर्षीय खेलाडी पुरुषोत्तम सिलवाल माथि कठिन जित निकाले । 

तेस्रो चरणको खेलमा कालो गोटी लिएर सिसिलियन प्रणालीमा खेल्न खोजेको पुरुषोत्तम चौलागाईं लाई रुपेशले खेल पेट्रोफ डिफेन्स प्रणालीमा परिणत गरे।दोस्रो चरणसम्म पराजय ब्यहोराका पुरुषोत्तम आक्रामक रूपमा प्रस्तुत भएता पनि ३३ औँ चालमा पुग्दा सिपाही एउटा गुमाउन पुगे । त्यसपछि रुपेशले बिस्तारै खेलमा पकड जमाउँदै ५३ औँ  चालमा जित निकाले ।

चौथो चरणको खेलमा  तेस्रो चरणसम्म उत्कृष्ट प्रदर्शन गरिरहेका पुरुषोत्तम सिलवाललाई पराजित गरे। 

इङ्गलीस ओपन प्रणालीमा सेतो गोटी लिएर खेल सुरु गरेका पुरुषोत्तमले रुपेशलाई ४३ औँ चासम्म बराबरी अवस्थामा राखेका थिए ।  खेल बराबरी तर्फ अग्रसर भएकोमा ४४ औँ चालमा पुरुषोत्तमले गल्ती गर्न पुगे । रुपेशले  तत्काल फाइदा उठाउँदै ६८ औ चालमा सफलता हात पारे। रुपेशले ४ अङ्क सहित शीर्ष स्थानमा रहे ।

पूर्व नेपाल च्याम्पियन  सुरवीर लामा ,  फिडे मास्टर क्षितिज भण्डारी र पुरुषोत्तम सिलवालको ३ अङ्क रहेका छन् ।

सुरवीर झापाका राजन सुवेदीसँग पराजित भए । बिहीबार क्षितिजको लागि सुखद रह्यो  उनले तेस्रो चरणको खेलमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई हराए भने चौथो चरणको खेलमा  दोलखाका राजीव कार्कीलाई निराश बनाए। सुरवीरले पनि तेस्रो पटक चरणमा राजीव कार्की माथि सफलता हात पारेका थिए ।

दिव्यासं मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन र रुक्मिणी टुर्स एन्ड ट्राभलको सह प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा  ललितपुरका राजन पुरी झापाका राजन सुवेदीले साढे २ अङ्क जोडेका छन् ।

महिलातर्फ भने वोमेन फिडे मास्टर सुजना लोहनी ४ अङ्क सहित शीर्ष स्थानमा रहेका छन्। 

उनले तेस्रो चरणको खेलमा चितवनका लक्ष्मी कँडेललाई खेलको ७१ औँ चालमा आत्मसमर्पण गर्न लगाए भने चौथो चरणको खेलमा निकै नै रोचक खेलमा अनुभवको फाइदा उठाएर काठमाडौँका रिया श्रेष्ठ माथि खेलको ५७ औँ चालमा जित हात पारे।

पर्साका सुशीला गुरु र रिया श्रेष्ठको ३ अङ्क सहित सुजनालाई पडछाइ रहेका छन् ।  मोरङका शान्ति धिमाल, लक्ष्मी कँडेल र कास्कीका पूजा भण्डारीको २ अङ्क रहेको छ ।

काठमाडौँ लाजिम्पाट  स्थित होटेल ले हिमालयमा जारी प्रतियोगिताको शुक्रवार पाँचौँ र छैटौँ चरणका खेलहरू हुने छ ।

Comment