मायन्कालाई सहवीर स्मृती टेनिस उपाधि

rana

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ को महिला एकलमा ललितपुरकी मायान्का राणा प्रथम भएकी छिन । सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको लनटेनिस कोर्टमा फाइनल खेलमा मायान्काले ललितपुरकै माहिका राणालाई ४–६, ७–५ र ६–४ ले पराजित गरी उपाधि हात पारेकी हुन ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले पुरस्कार प्रदान गरे । उक्त प्रतियोगिता अन्तर्गत अन्य विभिन्न इभेन्ट्सका विजयी खेलाडीहरुलाई पूर्वअर्थमन्त्री मधुकरशम्शेर जबरा, अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणा, सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्वअध्यक्ष श्रीमती कल्पना थापा, द्वन्द्वविद् डा.इन्द्रजित राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
यसैगरी पुरुष एकलतर्फको उपाधि नेपाल पुलिस क्लबका कमल भण्डारीले हात पारेका छन् । उनले एपीएफका जितेन्द्र परियारलाई पराजित गरी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।
यसैगरी पुरुष युगलतर्फ काठमाडौंका श्रीयान्स कार्की र जितेन्द्र परियारको जोडीले एपीएफका आत्माराम कार्की र सन्तोष खत्रीको जोडीलाई पराजित गरी उपाधि हात पारेको छ भने मिश्रित युगलतर्फ नेपाल पुलिस क्लबका कमल भण्डारी र गंगा शर्माको जोडीले एपीएफका आत्माराम कार्की र आइरा एम रावतको जोडीलाई पराजित गरी प्रथम स्थान हासिल गरेको थिए ।
उक्त प्रतियोगितामा विजयी खेलाडीहरुले पुरुष एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र क्वाटर फाइनलिष्टले २० हजार रुपैयाँ प्राप्त गरेका छन भने पुरुष युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ तथा द्वितिय र तृतीय पुरस्कार २०÷२० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसैगरी महिला एकलतर्फ विजयी खेलाडीहरुले प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ हात पारेका छन् भने मिश्रित युगलतर्फका विजयी खेलाडीहरुले प्रथम पुरस्कार ४० हजार तथा द्वितिय र तृतीय पुरस्कार २०÷२० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
गत चैत्र ११ गतेबाट संचालित सो प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको थियो । प्रतियोगिता खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको लनटेनिस कोर्ट तथा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा संचालन गरिएका थिए । प्रतियोगितामा समावेश इभेन्ट्सहरुमा पुरुष एकल, महिला एकल, पुरुष युगल, मिश्रित युगल, नेपाल सरकारको सेवामा कार्यरत तथा अवकाश प्राप्त (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती सेवाका राजपत्राङ्कित अधिकृत) हरुको लागि एकल र युगल तथा भेट्रान्सतर्फ एकल र युगलतर्फको ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष माथिका खेलहरु तथा यसपटक थप गरिएको  ६५ वर्ष माथि भेट्रान्स युगल इभेन्ट्स रहेका थिए ।
प्रतियोगिताका खेलहरु आइटिएफ र एएनएलटिएको नियमअनुसार बेष्ट अफ थ्रीका आधारमा संचालन गरिका थिए । एपीएफले यस प्रतियोगितासहित राष्ट्रिय स्तरमा ब्याडमिन्टन तथा महिला भलिबल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

Comment