नेपाल र भुटानबीच बराबरी

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले भुटानसँग पहिलो पटक बराबरी खेलेको छ । मंगलबार दशरथ रंगशालामा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटान ले १–१ गोलको बराबरी खेलेका हुन् । नेपालले यसअघि खेलेका सबै अन्तर्राष्ट्रिय खेलमा नेपालले भुटानलाई पराजित गरेको थियो ।
मंगलबार खेलको अन्तिम अवस्था सम्म १–० ले पछि परेको नेपालका लागि ९० औं मिनेटमा दिपकराज सिंह ठकुरीले बराबरी गोल फर्काउँदै नेपालको हार टारेका हुन् ।
सिनियर स्तरमा पहिलो पटक बराबरीमा रोकिएको नेपाल उमेर समूहका खेलमा भने भुटानसँग हारेको इतिहास छ ।
बराबरी खेलेर पनि नेपाल कपको फाइनलमा पुगेको छ । अब नेपालले शुक्रबार लाओससँग फाइनल खेल्नेछ । सुरूदेखि नै नेपालमाथि दबाब कायम गरेको भुटानले १९औं मिनेटमा गोल गरेको थियो ।
कर्नर बलमा हेडमार्फत तेन्जिङ नोर्बुले गोल गरेका हन् । पहिलो हाफमा नेपालले कुनै गोल गरेको थिएन। दोस्रो हाफमा मात्रै नेपालले गोल फर्काएको हो ।

नेपालले गोल गरेपछि भुटान यो कपबाट बाहिरिएको हो।

यसअघि नेपालले लाओससँग खेलिसकेको छ। उक्त खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो।

लाओसले पनि भुटानलाई २–१ले पराजित गरेको थियो।

Comment