विराटनगर एफसी विराट गोल्ड कपको फाइनलमा

घरेलु टोली विराटनगर एफसी विराट गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको पहिलो सेमिफाइनलमा विराटनगरले जावलाखेल यूथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा ५९ औँ मिनेटमा मेसुको ओलमोले गोल गर्दै अग्रता दिलाएका थिए ।  विमल घर्ती मगरले प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनीश देउलाले क्लियर गर्न खोज्दा मेसुकेले जाली चुमाउँदै विराटनगरका लागि गोलको खडेरी तोडेका थिए  ।  

५७ औँ मिनेटमा युसुफ थपलियाले गरेको प्रहार पोस्टमाथि लागेर बाहिरिएको थियो । ८६ औँ मिनेटमा समिराज थोकरको हेडर पनि खेर गएको थियो । लगातार गोल फर्काउने प्रयास जावलाखेलले गरे पनि सफल हुन सकेन । तर, ८७ औँ मिनेटमा अभिषेक गुरुङले विराटनगरका लागि दोस्रो गोल गरेका थिए । विराटनगरका ओलाओले अफिजलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अभिषेकले टप कर्नरबाट उत्कृष्ट फिनिसिङ गरेका थिए ।

५ मिनेट समय थप गरिएको थियो । सोही अतिरिक्त समयको तेस्रो मिनेटमा युसुफ थपलियाले जावलाखेलका लागि १ गोल फर्काएका थिए । त्यसपछि पनि जावलाखेलले लगातार दबाब बनाए पनि सफल हुन सकेन ।  प्रतियोगिता अन्तर्गत भोलि डिफेन्डिङ च्याम्पियन एपीएफ र केरलाको लुका सकर क्लब भिड्ने छन् ।

उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

यसै गरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

Comment