जुडोकी फुपु बोल्डरिङमा पनि सेमिफाइनलमा

Manoj Shiama
30 March, 2015 9:54 pm

wall climbing
फुपु ल्हामु खत्रीसहित ९ खेलाडी तेश्रो पर्वतीय खेलकुद महोत्सवअन्तर्गत दोर्जे खत्री स्मृति बोल्डरिङ प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । फुपु दोर्जे खत्रीकी छोरी हुन् । साथै उनी जुडोको राष्ट्रिय खेलाडी हुनुका साथै एसियाली जुनियर च्याम्पियनसीपकी पदक विजेता समेत हुन् ।
सेमिफाइनल पुग्ने अन्यमा अस्मिता हमाल ठकुरी, रमा सुनवार, सुमित्रा लामा, आयशा डंगोल, जुना श्रेष्ठ, कविता सुवेदी, सविता प्याकुरेल तथा रुपा राई रहेका छन् ।
दोर्जे आयोजक पर्वतारोहण तथा रक क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन नेपालका सदस्य थिए । दोर्जेको गत अप्रिल १८ तारिखमा हिम पहिरोमा परी मृत्यु भएको थियो ।
पुरुषतर्फ युवराज बर्देवा, सुरज श्रेष्ठ, समिर भुजेल, प्रकाश श्रेष्ठ, रवि श्रेष्ठ, सतिश महर्जन, श्रीकृष्ण श्रेष्ठ, रितेश श्रेष्ठ, पवन अधिकारी, प्रज्ज्वल गजुरेल, घनश्याम थापा, विकास कोइराला, कुनालकृष्ण चौधरी, राजु महर्जन तथा सुवर्ण बस्नेत सेमिफाइनलमा पुगे । महिलामा ५ तथा पुरुषमा ९ खेलाडीबीच फाइनल हुनेछ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले एक कार्यक्रमबीच उद्घाटन गरे । सोही अवसरमा सदस्य–सचिव लामाले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा नवनिर्मित स्पोर्ट क्लाइम्बिङ वालको पनि उद्घाटन गरेका थिए ।
मंगलबार सम्पन्न हुने प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी ३५ प्रतिस्पर्धी सहभागी छन् । दुवै समूहमा पहिलो हुनेले ९ हजार, दोश्रोले ६ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।