डेमसाइड, पोखरा भ्याली, गार्डेन र सहारा सेमिफाइनलमा

पोखरा
डेमसाइड क्लब, पोखरा भ्याली स्पोर्टस् क्लब, गार्डेन एफसी र सहारा क्लब पोखरामा जारी स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
कास्की जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा आइतबार भएको पहिलो क्वाटरफाइनलमा डेमसाइड क्लबले विष्णपादुका क्लब हेमजालाई ४–२ ले पराजित ग¥यो। डेमसाइडको जीतमा चुडा चौधरीले दुई तथा इश्वर बानियाँ र जीत पुनले एक–एक गोल गरेका थिए।चौधरीले ८ र ६२, इश्वरले १७ र जीतले ४१ मिनेटमा गोल गरेका थिए।विष्णुपादुको लागि सुविन श्रेष्ठले १० र विशाल थापाले २२ मिनेटमा एक–एक गोल गरेका थिए।सोखेलमा डेमसाइडका छवि सुनार र सुनिल गिरी तथा विष्णुपादुकाका प्रविन थापाले एलोकार्ड खाएका थिए।
दोस्रो खेलमा पोखरा भ्याली स्पोर्टस् क्लबले संगम एफसीलाई टाइब्रेकरमा ४–३ ले हरायो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पोखरा भ्यालीका सुनिल विक, प्रताप सैंजू, राजन गुरुङ, सन्तोष गुरुङको प्रहार गोलमा परिणत भएको थियो भने गोलकिपर सागर गुरुङको प्रहार बाहिरिएको थियो। संगमका राकेश गुरुङ, कुमार गुरुङ र अञ्जन देवकोटाको प्रहारमात्र गोलमा परिणत भयो भने विमल राना र सरोज तामाङको प्रहार बाहिरिएको थियो।निर्धारित समयमा संगमका राकेश गुरुङले ३० मिनेटमा गोलको अग्रता लिए पनि पोखरा भ्यालीको लागि सम्रिक गुरुङले ५६ मिनेटमा बराबरी गोल फर्काएका थिए।सो खेलमा पोखरा भ्यालीका विनोद गुरुङले एलोकार्ड खाए।
तेस्रो खेलमा गार्डेन एफसीले एलजी एशोसिएसनलाई टाइब्रेकरमा ४–२ ले पाखा लगायो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएको थियो। टाइब्रेकरमा गार्डेनका सुविन गुरुङ, सन्दीप भट्टराई, मिलन गुरुङ र सन्तोष खवासको प्रहार गोलमा परिणत भएको थियो। एलजीको तर्फबाट सुलेमान थापा र दिनेश श्रेष्ठको प्रहार मात्र गोलमा परिणत भयो भने विश्व गुरुङ र रमेश थापाको प्रहार बाहिरिएको थियो। निर्धारित समयमा एलजीको लागि विश्व गुरुङले २० र खगेन पुनले २३ मिनेटमा गोल गरेका थिए। दुई गोलको अग्रता लिएको एलजीविरुद्ध पहिलो हाफमै गार्डेनका लागि विमल गुरुङले ३३ र सन्तोष खवासले ३५ मिनेटमा एक–एक गोल गर्दै बराबरीमा ल्याएका थिए।सो खेलमा गार्डेनका सन्तोष गुरुङ तथा एलजीका प्रदीप गुरुङ र विमान गुरुङले एलोकार्ड खाएका थिए।
चौथो खेलमा सहारा क्लबले सत्य युवा क्लब बाझापाटनलाई २–१ ले पन्छायो। सहाराको जीतमा मनिष श्रेष्ठले तीन तथा विजय श्रेष्ठले ७० मिनेटमा एक–एक गोल गरेका थिए। २–० ले पछि परेको सत्य युवा क्लबको लागि ७६ मिनेटमा किरण गुरुङले सान्त्वना गोल फर्काए। सो खेलमा सहाराका जय थापा र सत्यका किरण गुरुङले एलोकार्ड खाएका थिए।
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत सोमबार कुनै पनि खेल हुने छैनन्।मड्डलबार डेमसाइड क्लब र गार्डेन एफसीबीच बिहान साढे सात बजे पहिलो तथा पोखरा भ्याली स्पोर्टस् क्लब र सहारा क्लबबीच नौ बजे दोस्रो खेल हुने कास्की जिल्ला फुटबल सङ्घका कार्यालय सचिव आशिषमान सिंह भण्डारीले जानकारी दिए। १५ क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल १८ गते हुने आयोजकले जनाएको छ।

Comment