नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट

प्रतिस्पर्धा गर्दै सिक्का सुवाल

नेपालका ६ खेलाडी एसियन टेबल टेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियनसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन् ।
पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरी पाँचै खेलाडी छनोट भए । महिलातर्फ नेपाल वरियता एककी नबिता श्रेष्ठ मात्रै सफल भइन् । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरियतामा पर्न असफल भए ।
शुक्रवार भएको समूह चरणमा विजयी हुँदै संयोग, रुविन, बिनेश र नबिता छनोट भइसकेका थिए । शनिवार भएको खेलमा पराजित भए पनि शिव र प्रदीप शीर्ष १६ वरियतामा स्थान बनाउँदै छनोट हुन सफल भएका छन् ।
अन्तिम खेलमा शिव पाकिस्तानका हसिव ख्वाजासँग सोझो सेटमा हार्न पुगे । आइतबार शिवले नवौँ वरियताको लागि बङ्गलादेशका नाफिज इक्वालसँग प्रतिस्पर्धा गर्नेछन् । यसै गरी प्रदीप बङ्गलादेशका राम हिमलियान वानसँग ३–२ सेटमा पराजित भए पनि १६औँ वरियतामा रहन सफल भए ।
पुरुषतर्फ नेपालका पाँच खेलाडी छनोट हुँदा पाकिस्तानका चार, बङ्गलादेश, भारत र श्रीलङ्काका दुई–दुई खेलाडी छनोट हुँदा मालदिभ्सका एक खेलाडी छनोट भए । पुरुषतर्फ पाकिस्तानका हसिव खवाजा, मोहम्मद शाह खान, फहाद खवाज र फइजान जाहूर छनोट भए । भारतका सनिल शंकर सेटी र हर्मित राजुल डेसाइ छनोट हुँदा श्रीलङ्काका प्रसाद जयशंका डी सिल्भा र भुवनेका निर्मला बन्दरा जयासिंहे भएका छन् । यसै गरी बङ्गलादेशका रामहिमलिआन बाव र नाफिज इक्वाल तथा मालदिभ्सका मूसा मुन्सिफ अमहेन छनोट भए ।
महिलातर्फ शीर्ष वरियतामा भारत र श्रीलङ्काका पाँच–पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र मालदिभ्स, नेपाल र बङ्गलादेशका समान एक खेलाडी छनोट भएका छन् । भारतकी मनिका बट्रा, श्रीजा अकुला, रीथ रिस्या टेनिसन, अर्चना गिरिस कमाथ र दिया पाराङ चितल छनोट भए । यसै गरी श्रीलङ्काबाट विमन्दी सन्दिन्सा स्वा, मनीषा शालिन्दी, तामादी काभिन्ध्या, कसुनी हिमाय पितिगला, ओनेली लेहान्सा डोना छनोट भएका छन् । पाकिस्तानकी हूर फवाद, पेनिया जहान खान र हाइक्वा हसन गरी तीन खेलाडी छनोट भए । यस्तै, मालदिभ्सकी फाथिमथ धिमा अलि, बङ्गलादेशकी आइशे रोहमन र नेपालकी नबिता छनोट हुन सफल भइन् ।
एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।

Comment