ललितपुरमा बुद्धिचाल प्रतियोगिता

  नेपाल भाषा मंकाः खलः ललितपुरको ४३ औँ वार्षिक जन्मोत्सवको उपलक्ष्यमा प्रथम राष्ट्रव्यापी खुल्ला रेपिड बुद्धिचाल प्रतियोगिता आइतबार त्यागल टोल मंकाः दबूमा सुरु भएको छ । कूल ६४ खेलाडी प्रतियोगितामा सहभागी छन् । प्रतियोगिताको पहिलो चरणमा प्रायः शीर्ष खेलाडीहरूले जीत हात पारे । रुपेश जैसवालले युवा विवेक श्रेष्ठमाथि सुझबुझ पूर्ण जीत हात पारे । पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठसँग अदभूत खेल खेलेका उदयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले सङ्घर्षपूर्ण जीत हात पारे । पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, सुरवीर लामा, नवीन तुण्डकारले भने पुरानो दबदबालाई कायम गर्दै जीत हासिल गर ।  कम बरीयताका सानुभाई महर्जनले आफू भन्दा उच्च खेलाडी निकेन कुसाथालाई अप्रत्याशित माथ दिन सफल भएका छन ्।
        प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले गरे । नेपाल भाषा मंकाः खलःको अध्यक्ष हिराकाजी महर्जनले अनुशासित र शालीन बुद्धिचाल खेलको क्रमिक रूपमा आयोजना गर्दै लैजाने प्रतिबद्धता जनाए।अन्तिम चरणको खेलमा  सुशील चौधरी समयको दबाबलाई झेल्न नसकी रुपेश जैसवालको गल्तीलाई उपयोग गर्न असफल रहे ।रुपेशसंगै सबै खेलमा जीत हासिल गर्न सफल क्षितिज भण्डारी , बद्रीलाल नेपाली , अशोक मोहन श्रेष्ठ , पुण्यमान कर्माचार्य , सुरज महर्जन , सबिन चन्द्र घिमिरे ३÷३ अङ्क जोडेका छन् ।
        प्रतियोगिताको कुल  पुरस्कार राशि ६० हजार रुपैयाँ छ । खुल्ला तर्फ उपाधि विजेताले १० हजार उपविजयजीले ७ हजार तथा तेस्रोले ५ हजार रुपैयाँ पाउने छन् । महिला तर्फको विजेताले ५ हजार , उपविजयजीले ४ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । ललितपुरका स्थानीयको पहिलाले २ हजार ५०० तथा दोस्रोले १ हजार ५ सय रुपैयाँ पाउने छन् । प्रतियोगिता सोमबार सकिने छ ।
Comment