नेपाली चेलीले जीते उपाधि

गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि नेपालले साफ यु–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
डवल राउन्ड रोविन प्रणाली अन्तर्गत सञ्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रवार घरेलु टोली बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अङ्क जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।
नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बङ्गलादेशका लागि जित आवश्यक थियो । खेल १–१ को बराबरीमा रहेका बेला बङ्गलादेशले अन्तिम समयमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन र नेपाल भाग्यमानी बन्यो । जहाँ सुजाता नायक बनिन् ।
बीएसएसएसएमके रङ्गशालामा भएको खेलको १४औँ मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा नेपालले अग्रता कायम राख्यो । दोस्रो हाफमा घरेलु टोली बङ्गलादेशले गोल फर्कायो । बङ्गलादेशकी कप्तान रुमा अख्तरले ५४औँ मिनेटमा गोल गरेकी थिइन् ।
खेलको अन्तिम मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर, बङ्गलादेशकी जोयनोब बीबी रिताको पेनाल्टी प्रहार कप्तान तथा गोलकिपर सुजाता तामाङले बचाउँदै नेपालको संकट टारिन र ऐतिहासिक उपाधि दिलाइन् ।
नियमित कप्तान दीपा रोकायको स्थानमा सुजाताले बङ्गलादेश विरुद्ध कप्तानी गरेकी हुन् ।
नेपाल, बङ्गलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यस प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।
प्रतियोगितामा नेपालले भुटानलाई ७–० र १–० तथा , बङ्गलादेशलाई १–० ले पराजित गरेको थियो । चार वटै खेल हारेको भुटान भने अङ्कविहीन हुँदै यसअघि नै घर फर्किसकेको छ ।
नेपालको महिला फुटबल टिमले उमेर समूहमा जितेको यो दोस्रो उपाधि हो । यसअघि सन् २०१४मा श्रीलङ्कामा भएको यु–१४ रिजन प्रतियोगितामा नेपालको यु–१४ महिला टिमले उपाधि जितेको थियो ।
साफ यु–१५ महिला च्याम्पियनसिपमा भने नेपालको यो पहिलो उपाधि हो । यसअघि तीन संस्करण खेल्दा पछिल्लोपल्ट २०१९ मा बङ्गलादेशमै भएको तेस्रो संस्करणमा तेस्रो भएको थियो ।
Comment