पुरुष फुटबलमा एनआरएनए र बागमतीको विजयी सुरुवात

गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा बिहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
एनआरएनएको जितमा सन्जोग राई र  विमल घर्ती मगरले गोल गरे । सन्जोगले खेलको नवौँ  मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । समय घटाएर ७० मिनटमा झारेको प्रतियोगिताको दोस्रो गोल भने विमलले दोस्रो हाफको दसौँ मिनेटमा गरेका थिए ।
पुरुष तर्फको दोस्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्णै ३ अङ्क जोडेको छ । बागमतीका सुनिल बलले दोस्रो हाफको चौथो मिनटमा र अञ्जन विष्टले १० औँ मिनटमा गोल गर्दै टिमका लागि महत्त्वपूर्ण अङ्क जोडे ।
स्याङ्जाको वालिङमा बिहीबार सुरु भएको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रेखा पौडेलको ह्याट्रिक प्रेरित पुलिसले बागमती प्रदेशमाथि ५–० को जित हासिल गर्‍यो । टोलीका लागि निर थापाले दुई गोल गरिन । १७ औँ मिनेटमा निरुले गोल गर्दै दिलाएको अग्रतालाई रेखाले १८औँ मिनेटमा दोब्बर पारिन । त्यसको तीन मिनेटपछि दोस्रो व्यक्तिगत गोल गरेकी रेखाले २३औँ मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन । निरुले दोस्रो व्यक्तिगत गोल मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा गरेकी थिइन । जितपछि पुलिसले समूह ‘ए’मा अङ्कको खाता खोलेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको दोस्रो खेलमा विभागीय टिम नेपाल आर्मीले सहज जित निकालेको छ । स्याङ्जाको वालिङमा भएको खेलमा आर्मीले मधेस प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
बिहीबारबाट स्याङ्जा वालिङ स्थित माले बगर खेल मैदानमा सुरु भएको महिला फुटबलमा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ ।
Comment