दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिताबाट १० लाख बचत

पोखरा

पोखरा भ्याली स्पोर्टस् क्लब रामबजारको आयोजनामा गत पुस ८ देखि १२ गतेसम्म माछापोखरी खेलमैदान संगमटोलमा सञ्चालित दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिताबाट १० लाख बचत भएको छ।
क्लबले शुक्रबार आयोजना गरेको सम्मान तथा बिदाइ कार्यक्रममा कोषाध्यक्ष विश्व तण्डुकारले प्रतियोगिताको आयव्यय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।
उनले १५ लाख २९ हजार छ सय नौ रुपैयाँ आम्दानी भएकोमा चार लाख ६९ हजार १२ रुपैयाँ खर्च भई १० लाख ६० हजार पाँच सय ९७ रुपैयाँ बचत भएको जानकारी दिए। पोखरामा सञ्चालन हुने सेभेन–ए–साइड फुटबल प्रतियोगिताबाट बचत भएको यो सबैभन्दा ठूलो रकम हो। बचत रकममध्ये पाँच लाख अमन गुरुङ अक्षयकोषमा जम्मा गरिने तथा बाँकी रकम क्लब सञ्चालनको लागि छुट्टयाइएको उनले बताए। अब अमन गुरुङ अक्षयकोषमा १५ लाख भएको छ। यसअघि १० लाख थियो।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद प्रशिक्षण विभाग निर्देशक विद्या मर्सानीले सामाजिक क्षेत्रमा पनि सक्रिय सहभागी क्लबले फुटबल प्रतियोगिता सञ्चालन गरेर विदेशमा रहेका नेपाली दाजुभाइको पनि मन जित्न सफल भएको बताए। उनले क्लबले अबदेखि इलेभेन–ए–साइड फुटबल प्रतियोगिता सञ्चालन गर्न सुझाव दिए।
क्लबका अध्यक्ष क्या. थमनसिंह थापाले क्लबल आगामी वर्षदेखि इलेभेन–ए–साइड फुटबल प्रतियोगिता खेलाउने जानकारी दिए। उनले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे।
सो अवसरमा क्लबका सहयोगी एवं साधारण सदस्यहरू लोप्साङ जेम्पा (फ्रान्स) तथा चेवाङ ताम्स( क्यानडा) लाई सम्मान गर्नुको साथै दक्षिण कोरिया जान लागेका भमराज गुरुङ र युके जान लागेका कवि गुरुङलाई बिदाइ गरिएको थियो।
क्लबका अध्यक्ष क्या. थमनसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खेम गुरुङले स्वागत तथा सदस्य ज्ञानबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए।

Comment