बंगलादेश साफ महिला च्याम्पियन
Manoj Shiama
20 September, 2022 6:38 am

साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौँ प्रयासमा पनि असफल भएको छ । सोमबार दशरथ रङ्गशालामा भएको छैटौँ संस्करणको उपाधि भिडन्तमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएसँगै नेपाल पाँचौँ पटक उपविजेतामा सीमित बनेको हो ।
नेपाललाई हराएको बङ्गलादेशले भने साफ महिला च्याम्पियनसिपको पहिलो उपाधि जितेको हो ।
यसअघि पाँच संस्करणमा च्याम्पियन बनेको भारत यस पटक सेमिफाइनलमा नेपालसँग हारेर बाहिरिएको थियो । पहिलो चरणमा भारत बङ्गलादेशसँग पराजित भएको थियो ।
यसअघि नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको थियो । चार वटै फाइनलमा नेपाललाई भारतले हराएको थियो ।
सोमबार दशरथ रङ्गशालामा पहिलो उपाधि जित्ने क्रममा बङ्गलादेशले नेपालविरुद्ध पहिलो हाफमै २ गोल गरेको थियो । खेलको १७ मिनेटमा बङ्गलादेशले अग्रता लियो । बङ्गलादेशका लागि सब्सिच्युट खेलाडी शाम्शुनहारले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन् ।
मोनिका चक्काले उपलब्ध गराएको सटिक क्रसलाई उनले दोस्रो पोल च्याप्दै गोल गरेकी हुन् । शाम्शुनहार खेलको ११ मिनेटमा जहान सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
खेलको ३६ मिनेटमा नेपालले बराबरी गर्ने मौका गुमायो। अनिता बस्नेतले बक्सबाहिरबाट हानेको उत्कृष्ट फ्रिकिकलाई बङ्गलादेशकी गोलकिपर रूप्ना चम्काले पञ्च गर्दै बाहिर पठाइन् ।
४१ मिनेटमा बंगलादेश अग्रता दोब्बर बनाउन सफल भयो । नेपाली डिफेन्डरहरूबिच समन्वय हुन नसकेको बललाई बङ्गलादेशकी कप्तान सविना खातुनले भेट्टाइन् ।
उनले श्रीमोती सरकारलाई पास दिइन्। जसमा सरकारले नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगको वान भर्सेस वानको अवस्थामा गोल गरिन ्।
दोस्रो हाफ सुरु भए लगत्तै नेपालले गोल गर्ने मौका पाएको थियो। कर्नर बलमा दीपा शाहीको हेडरले गोल पोस्टको दिशा लिन सकेन ।
५२ मिनेटमा नेपालले गोल गर्ने अर्को मौका गुमायो। अनिता बस्नेतले बक्स नजिकबाट दिएको क्रसमा रश्मि घिसिङको हेडर पोल नजिकबाट बाहिरिएको थियो । खेलको ७० मिनेटमा नेपालले गोल गरेको हो ।
नेपालका लागि अनिता बस्नेतले अमिसा कार्कीले दिएको पासमा डिबक्सभित्रबाट दोस्रो बार च्यापेर उत्कृष्ट फिनिसिङ गरेपछि नेपालको खेलमा फर्कने आशा पलाएको थियो ।
७३ मिनेटमा कर्नर बलमा दीपा शाहीको हेडरले गोल पोस्ट पोस्ट दिशा लिन नसक्दा नेपालले बराबरी गर्ने मौका गुमाएको थियो। ७७ मिनेटमा बङ्गलादेशले तेस्रो गोल गरेको हो ।
श्रीमोती सरकारले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । अन्तिम १३ मिनेट बाँकी छदा बङ्गलादेशले तेस्रो गोल गरेपछि दशरथ रङ्गशालामा उपस्थित १५ हजार ७ सय बढी नेपाली दर्शक निराश बनेका थिए ।