नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

श्रीलङ्कालाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० को फराकिलो अन्तरले हराएको हो । नेपाललाई जिताउन अमिसा कार्कीले २ गोल गरिन् । यस्तै रश्मिकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी र दीपा शाहीले एक एक गोल गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा १० औँ मिनेटमा हिरा कुमारी भुजेलको क्रसमा घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
त्यसको एक मिनेटमै  दायाँबाट आएको क्रसमा सरु लिम्बुको आकर्षक हेडिङ मार्फत गोल गरिन् । अनिता बस्नेतको कर्नरमा अमृता जैशीले १७ औँ मिनेटमा हेडिङ गोल नै गरेर ३–० को अग्रता बनाइन् । ४० औँ मिनेटमा अनिता केसीको प्रहारलाई भने लाइन्स म्यानले अफ साइड दिए ।
खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गरेपछि नेपाल पहिलो हाफमा ४–० ले अघि भएको थियो । ७५ औँ मिनेटमा गोल गरेकी अमिसा कार्कीले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थपिन् र खेल नेपालले ६–० ले जित्यो ।
नेपाल समूह विजेता बनेपछि यो समूहबाट भुटान उपविजेता बनेको छ । समूह ए बाट भारत र बङ्गलादेश यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । भारत र बङ्गलादेशबिच हुने समूह चरणको खेलको नजिता पछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वी टिमको टुङ्गो लाग्ने छ ।
Comment