कृत्तीसरा र मिलन चेस ओलम्पियाडमा

डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन् । भारतमा आयोजना हुने प्रतियोगिताका लागि काठमाडौँमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तिमा ५ अङ्क जोडेकी छन् । महिला तर्फ अन्य तीन खेलाडीको टुङ्गो शनिवार हुने अन्तिम चरणको खेलबाट हुने छ ।  नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी यस अघि नै छनोट भइसकेकी छन् ।
कृत्तीसराले शुक्रवार विनीता कपाली र पुनम प्रसाईँलाई पराजित गरिन् । छनोट चरणमा बाँकी तिन स्थानमा अनीसा न्यौपाने, विनीता कपाली, शान्ति धिमाल, सिन्दीरा जोशी र खुस्बु थापा तीव्र प्रतिस्पर्धा छ । अनीसाको ४.५ अङ्क छ भने भने बिनिताको ४ अङ्क छ । शान्ति, सिन्दीरा र खुस्बुको ३.५ अङ्क छ । पुजा भण्डारीको ३ अङ्क छ ।
एक दिन अगाडीसम्म अग्रता लिएको अनिसाले शुक्रवार शान्तिसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन् । विनीताले छैटौँ चरणमा शान्तिलाई हराउँदै सम्भावनालाई बलियो बनाएकी हुन् ।
पुरुष तर्फ मिलन लामा छनोट भएका छन् । मिलनले पनि ६ चरणको समाप्तिमा ५ अङ्क बटुलेका छन् । पुरुष तर्फ अब दुई जनाको टुङ्गो शनिवार हुने अन्तिम चरणको खेलले टुङ्गो लगाउने छ । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष बरीयताका खेलाडी विवेक थीङ यस अघि नै छनोट भइसकेका छन् । रुपेस जयसवालको ३.५ अङ्क छ । मिलनले शुक्रवार पाँचौँ चरणमा सुरवीर लामासँग बराबरी गरे भने सातौँ चरणमा रुपेसलाई हराए ।
Comment