पङ्कजको नेतृत्वमा सन्तुलित टिम


अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको टुङ्गो लगाएको छ । अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ६ मतको अन्तरमा पराजित गर्दै उपाध्यक्ष पंकजविक्रम नेम्वाङ निर्वाचित भए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरेका थिए । अर्का उम्मेदवार राजिव पौडेलले ० मत पाए ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का ४४ मतसहित विजयी भए । शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले ४० मत मात्रै प्राप्त गरे ।
उपाध्यक्ष पदमा पनि नेम्वाङ प्यानलबाट दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित भए भने शेर्पा प्यानलका दीर्घबहादुर (कुमार) केसी विजयी भए । शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा तथा नेम्वाङ खेमाका सुन्दरनरसिंह जोशी पराजित भए । सिंह र शर्मा दुवै जना पछिल्लो समयका विवादास्पद व्यक्ति हुन् ।
महिला सदस्यमा भने दुवै प्यानलका एक–एक उम्मेदवार विजयी भए । शेर्पा प्यानलकी पेमा डोल्मा लामा र नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ विजयी भए । नेम्वाङ प्यानलकी विन्द्रा देवान र शेर्पा प्यानलकी विना श्रेष्ठ पराजित भए ।
१३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट ५ सदस्य विजयी भएका छन् । चार जना सदस्यका उम्मेदवारको समान ३९–३९ मत भएपछि दुई सदस्यको टुङ्गो लागेको छैन । एन्फाको विधानअनुसार आजै पुनः निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको छ ।
सदस्य पदमा नेम्वाङ प्यालनका रविन्द्र चन्द ४६, अनिल मल्ल ४७, भोजराज शाही ४४, पुरुषोत्तम थापा ४३, महेन्द्र क्षेत्री ४४, विजय नारायण श्रेष्ठ ४४ मत ल्याएर विजयी भए ।
शेर्पा प्यानलका रमेश व्यञ्जनकार ४३, भरत बुढ थापा ४०, टिका लामा ४१, मणिराज विष्ट ४२, मनिष जोशी ४८ मत ल्याएर विजयी भए ।
शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ दीपेन्द्र धिमालको समान ३९ मत आएको थियो ।
सदस्य पदमा भने हार्ड लाइनरहरु पराजित भए भने दुवै प्यानलमा सन्तुलन मिलाउनेले सफलता पाएका छन् । शेर्पा प्यानलबाट निर्वाचीत हुने मनीष, मणीराज र रमेस सफ्ट लाइनर थिए भने टिका लामा भने शेर्पा प्यानलका हार्डलाइनर मानिन्छन् ।

 

Comment