देउराली टिम च्याम्पियन


नेपालको देउराली डोजो आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र दुई कांस्य जित्यो ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण जितेको भुटान दोश्रो भयो । १ स्वर्ण, ६ रजत र ४ कांस्यमा भारतको टिम एमपीले तेश्रो स्थानमा चित्त बुझायो ।
प्रतियोगिताको पुरुषमा नेपालका सुशान्त हुमागाईं तथा महिलामा भारतकी सोनम विकी उत्कृष्ट खेलाडी घोषित भए । सुदूरपश्चिम प्रदेश अनुशासित टिम चुनियो भने मार्चपासमा रुपेन्देही अब्बल रह्यो ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, आयोजक डोजोका प्रमुख गजेन्द्र खपाङ्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका करिब १ हजार खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

Comment