रेहान र रसुगीलाई स्वर्ण

नेपालका रेहान जावेद र रसुगी पाण्डेले आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा शनिवार स्वर्ण जितेका छन् । रेहान पुरुष तथा रसुगी महिलामा पहिलो भएका हुन् । रेहानले नेपालका कृष्ण ऐडी र रसुगीले नेपालकै वर्षा बूढा मगरलाई पछि पारे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको महिला ५५ केजीमा नेपालकी पुष्पका लामाले नेपालकै सञ्जीवनी कार्की, ६१ केजीमुनि नेपालकी निरुता श्रेष्ठले नेपालकी जुनु विशंखे तथा ३३ केजीमा नेपालकी प्रतीक्षा तामाङले भारतकी अश्विनी पावरलाई पराजित गर्दै स्वर्ण  जिते ।
नेपाल सितोरियो कराते सङ्घ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजीमा नेपालका अनीश खड्काले नेपालका लेखराज घिमिरे, ४० केजीमा नेपालका इरफान वस्ताले भारतका अभिमन्यु तथा ३० केजीमा नेपालका अनिल रोकाले भारतका अद्नान मल्भीलाई हराउँदै स्वर्ण जिते । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।
Comment