सुमनलाई स्वर्ण


नेपालका सुमन भोलनले आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम् श्रेष्ठलाई पराजित गरे । भारतका हरि राम र चैतन्य शर्माले तेस्रो स्थानमा चित्त बुझाए ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबिच उद्घाटन गर्दै प्रतियोगिताको पहिलो संस्करण पनि आफैले उद्घाटन गरेको स्मरण गरे । उनले खेल क्षेत्र मानवीय, सामाजिक र राजनैतिक जीवनमा अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै जुनसुकै राष्ट्रको विकासको मापन गर्ने मापदण्ड खेलकुद भएको बताए ।
पूर्व प्रधानमन्त्री दाहालले कुनै देशको आर्थिक क्षेत्रको विकासको माध्यम पनि खेल क्षेत्र नै भएको बताउँदै  राष्ट्रिय एकता तथा अन्तर्राष्ट्रिय भाइचाराको निर्माण गर्ने माध्यम पनि खेल क्षेत्र भएको धारणा व्यक्त गरे । उनले खेलकुद क्षेत्रको विकासका लागि ऊर्जाशील तथा खेल क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरूलाई रोज्ने गरेको र त्यसबाट खेलकुदको समग्र विकास गर्दै यसैको माध्यमले आर्थिक र संवृद्ध राष्ट्र बनाउनेमा आफू विश्वस्त रहेको बताए ।
राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले ३६५ दिन नै राष्ट्रिय टिम तयारी सञ्चालन गर्ने योजना परिषद्ले बनाएको बताउँदै कराँते खेलले राष्ट्रको नामलाई उच्च राख्दै आएको बताए । उनले १७ औँ एसियाली खेलकुदमा करातेबाट विमला तामाङले राखेको इतिहासलाई करातेले पुनः कायम गर्ने गरी सम्बन्धित निकायले वातावरण सृजना गर्नु पर्नेमा जोड दिए ।
नेपाल सितरियो कराँते सङ्घ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र भुटान गरी ४ राष्ट्रको सहभागिता रहेको आयोजक डोजोका प्रमुख गजेन्द्रबहादुर खपाङ्गीले जनाएका छन् । विभिन्न २७ स्पर्धामा १ हजार खेलाडी सहभागी भएको बताइएको छ । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।

Comment