आरोप पुष्टि गर्न थापाको चेतावनी

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू विरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्मा छिरिङ शेर्पालाई चुनौती दिएका छन् । बुधवार ललितपुर स्थित एक होटेलमा पत्रकार सम्मेलन गर्दै थापाले आफूमाथि लगाइएका आरोपमध्ये १४ वटा प्रमाणित गर्न छिरिङलाई चुनौती दिएका हुन् । आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसके कर्मा छिरिङ एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी हुने थापाको चेतावनी छ ।
१५ वर्ष सँगै व्यवस्थापनमा रहेका कर्मा छिरिङले आफू प्रति लगाएको आरोप प्रेस विज्ञप्ति र भिडियो क्लिपमार्फत थापाले सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलनमा थापाले शेर्पाले
विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तर्वार्ताको क्लिप थापाले सार्वजनिक गरेका हुन् । थापाले कपोकल्पित आरोप लागेको र त्यो आरोप प्रमाणित गर्नुपर्ने चुनौती दिए ।
‘उहाँले लगाएका कपोकल्पित आरोपहरूका कारण आम फुटबल प्रेमीमा फिफाले मलाई कारबाही गरेको तर त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाहिँ सफाइ दिएको भन्ने भ्रम पर्न गएको छ । त्यस कारण अब यो विवादको अन्त्य हुन जरुरी छ , ’ थापाले भने । उनले आफू र परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहेको बताउँदै आफूलाई झुटो आरोप  लगाएको कारण एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुँदा नम्बर ३ अनुसार कदम चाल्ने बताए ।
एन्फा र फिफाको विधानअनुसार पनि कुनै निर्दोष व्यक्तिउपर कुनै निराधार आरोप लगाउन पाइन्न । कसैमाथि लगाएको आरोप झुटो साबित भएमा आरोप लगाउनेमाथि कारबाही हुने फिफा कोड अफ इथिक्समा स्पष्ट रूपमा लेखिएको छ,’ थापाले भने ।
उनले न्यायका निम्ति न्यायालयको ढोका ढकढक्याउने पनि बताए । उनले आफू माथि लगाएको आरोपलाई १४ बुँदामा प्रस्तुत गरेका छन् । थापाले ती सबै आरोप झुटो भएको दाबी गरेका छन् ।
१)गोल्ड प्रोजेक्ट अन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगर पालिकाहरूले दिएको रकमहरू पनि अडिटमा नदेखाएको र ठुलो आर्थिक अनियमितता भएको
२. एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको आठ करोड रुपैयाँ गैर कानुनी तरिकाले जम्मा गरेको र गैर कानुनी तरिकाले एन्फाको रकम व्याजमा लगाएको
३,. एन्फालाई आएको रकम आफ्नो श्रीमती र छोराहरूको नाममा राखी अनियमितता गरेको
४. खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपैयाँको स्रोत नखुलेको
५. साथी भन्ने संस्थालाई १ लाख ५० हजार डलर दिएको
६. एन्फाको रकम ३२ प्रतिसतमा व्याजमा लगाएको
७. रङ्गशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा
नदेखाएको
८. सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको
९. कतार फुटबल सङ्घले ८ लाख डलर दिएकोमा एन्फाको खातामा २ लाख हजार डलर मात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको
१०. एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको
११. साफ च्याम्पियनसिपको दौरानमा २ करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको र आर्थिक हिनामिना गरेको
१२. भ्रष्टाचार गरेको ६० करोड रुपैयाँ खेलाडी कल्याण कोषमा जम्मा गर्ने र मलाई जेलमा हाल्ने
१३. अरेन्ज प्रोजेक्टर सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको
१४. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाउँदा नेपालमा एउटा २ करोड १८ लाखको हिसाब देखाएको तर फिफामा करिब ३ करोडको हिसाब पेस गरेको र त्यसमध्येबाट ४० लाख रुपैयाँ खेलाडी कल्याण कोशमा हालेर करिब ६० लाख रुपैयाँ हिनामिना गरेको
Comment