राष्ट्रिय क्यानोई स्लालोममा पोखराका गुरुङ च्याम्पियन

canoing
पोखरा
नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ सङ्घको आयोजनामा भएको तेस्रो पर्वतीय खेलकुदअन्तर्गत शनिबार कास्कीको हेमजास्थित सेती नदीमा राष्ट्रिय क्यानोई स्लालोम च्याम्पियनसीप सम्पन्न भयो। च्याम्पियनसीपमा कास्कीका प्रकाश गुरुङ एक सय चार अड्ढका साथ च्याम्पियन बनेका छन्। प्रतियोगितामा उनले नगद १० हजारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरे।
पोखरेलीको बाहुल्यता रहेको प्रतियोगितामा समान एक सय नौ अड्ढका साथ सोमबहादुर मगर र प्रमोद गुरुङ द्वितीय हुन सफल भए। दुवैले नगद पाँच हजार प्राप्त गरे। तृतीय भएका धादिङका महादेव कटुवालले एक सय १५ अड्ढ प्राप्त गरेका थिए। कटुवालले नगद दुई हजार पाँच सय प्राप्त गरे।
प्रतियोगितामा हिट्स चरण पार गर्दै एक महिलासहित १५ जनाले अन्तिम चरणको यात्रा तय गरेका थिए। सेती नदीमा दुई सय ५० मिटरको दूरीमा १५ वटा गेट राखिएको थियो। जसमा छ गेट अप स्ट्रिम अर्थात पानीको उल्टो वहावमा पार गर्नुपर्ने थियो। ओलम्पिक गेममा पनि १५ देखि २५ वटा गेटको प्रयोग गरिन्छ।
नेपालमा क्यानोई स्लालोमको सम्भाव्यता अध्ययन गर्न आएका एशियाली क्यानोई महासङ्घका प्रतिनिधिहरूले नेपालमा यो खेलको सम्भाव्यता प्रचुर मात्रामा रहेको बताए। उनीहरूले युरोप तथा एशियाका अन्य देशमा पानीको कृत्रिम छाल बनाई खेलाउनुपर्ने अवस्था रहेकोमा नेपालमा प्राकृतिक छाल र वेगमा खेल्न पाउनुले नेपालमा यो खेलको विकास गर्न सहज पुग्नुका साथै पर्यटन व्यवसायलाई पनि सहयोग पुग्ने दाबी गरे।
एशियाली अध्यक्ष नारिताले नेपालमा यो खेललाई विकास गर्न सके नेपालले अन्तर्राष्ट्रिय पदकका साथै आर्थिक लाभ लिन सक्ने बताए। उनले प्रतियोगितामा सहभागी एकमात्र महिला गोमा सुनारलाई आफ्नो तर्फबाट थाइल्याण्डमा १० दिनको निःशुल्क तालिम दिलाउने घोषणा गरे।
उपाध्यक्ष एवं भारतीय क्यानोइ सङ्घका अध्यक्ष श्रीनिवासनगोपालन रघुनाथनले सरकारले पूर्वाधार निर्माणमा सहयोग र अभ्यासलाई निरन्तरता प्रदान गरेमा नेपालले ओलम्पिक र एशियाली खेलमा स्वर्ण पदक हासिल गर्ने एक मात्र खेल भएको बताए।
नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ सङ्घका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य मनबहादुर न्यौपानेले राज्यले यो खेलमा लगानी गरेमा ओलम्पिक गेममा सबैभन्दा छिटो मेडल जित्न सक्ने दाबी गरे। उनले राज्यले ओलम्पिक गेमम मेडल ल्याउन सक्ने खेललाई बेलैमा चिन्नुपर्ने बताए।
विजेता तथा उपविजेता खेलाडीलाई एशियन क्यानोई महासङ्घका अध्यक्ष मासानोरी सोकेन नारिता, उपाध्यक्ष एवं भारतीय क्यानोइ सङ्घका अध्यक्ष श्रीनिवासनगोपालन रघुनाथनलगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए। शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालित ५० खेलाडीको सहभागिता रहेको थियो।

Comment