रिब्सलाई फुटसल उपाधि


आयोजक स्वस्ति श्री गुरुकुललाई पेनाल्टी सुटआउमा स्तब्ध बनाउँदै रिब्स स्कुलले शुक्रवार पहिलो स्वस्ति श्री गुरुकुल अन्तर विद्यालय यु–१२ फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
स्वस्ति श्री गुरुकुलद्वारा आयोजित यु–१२ अन्तर विद्यालय फुटसल प्रतियोगिताको फाइनलमा रिब्सले आयोजक स्वस्ति श्री गुरुकुललाई पेनाल्टी सुट आउटमा २–० ले हराउँदै उपाधि जित्यो । सानो भ¥याङस्थित आफ्नै फुटसल मैदानमा सम्पन्न फाइनलमा स्वस्ति श्री गुरुकुलले निर्धारित समय १–१ को बराबरी खेलेको थियो । पेनाल्टी सुट आउटमा भने स्वस्ति श्री स्तब्ध भयो । पेनाल्टीमा रिब्सका रोचक लामा र शुभम् महर्जनले गोल गरेका थिए । आदर्श विद्या मन्दिर    (एभिएम) ले दी एक्सल्सेयर स्कुललाई पराजित गर्दै तेस्रो भयो । स्वस्ति श्री गुरुकुल स्कुलका दीप खत्री प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । रिब्स स्कुलका आयुष केसी उत्कृष्ट गोलरक्षक चुनिए । युरो स्कुल छाउनीले फेयर प्ले ट्रफी हात पार्न सफल भयो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधर, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा स्वस्ति श्री गुरुकुलका ब्रान्ड एम्बासडर अनिल गुरुङ, विद्यालयका संस्थापक अध्यक्ष रामकृष्ण चित्रकार, प्रबन्ध निर्देशक मिना महर्जन र शैक्षिक निर्देशक प्रवीण मोक्तान लगायतले पुरस्कृत गरे । तीन दिने प्रतियोगितामा उपत्यकाका ११ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो । समूहका शीर्ष दुई टोलीले नकआउट चरणको यात्रा तय गरेका थिए । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टोलीले ट्रफी पाए । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टोलीले पनि ट्रफी पाए ।

Comment