एन्फा नेतृत्वको गैर जिम्मेवारीका कारण अर्को उठको विवाद

एन्फाको हेलचेक्र्याइँ र मनोमानीको असर क्लबमा पर्ने भए पछि सहिद स्मारक ए डिभिजन लिग फुटबलका असन्तुष्ट चार क्लबले फुटबल खेल र खेलाडीमा दुर्घटना हुन नदिन आग्रह गरेको छन् । यसरी आग्रह गर्ने क्लबमा सङ्कटा क्लब, न्युरोड टिम (एनआरटी), थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लब छन् । ती क्लबले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा राखेका हुन् ।
‘एन्फाबाट भएको त्रुटिका कारण भविष्यमा फुटबल खेल र खेलाडीहरूमा कुनै दुर्घटना नहोस् ’प्रेस विज्ञप्ति भनिएको छ । नेपाली फुटबलको महत्त्वपूर्ण हिस्सा बनाएको मनाङले कीर्तिमानी आठ पटक लिग जितेको छ भने  एनआरटीले पाँच तथा सङ्कटा र थ्री स्टारले समान तीन पटक लिग उपाधि जितेका छन् ।
लिग चलिरहेको अवस्थामै नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने सञ्चारमाध्यमबाटै थाहा भएको चार क्लबले जनाएका छन् ।
यस्तै क्लबसँग रिलिज पत्र नलिई मार्की खेलाडी र अक्सन गराउन र नगराउन  भन्दै ध्यानाकर्षण सहित दुई पटक आठ क्लबले एन्फा समक्ष पत्र काटेका थिए ।
विज्ञप्तिमा नेपालको फुटबल विकासमा गौरवमय इतिहास बोकेका क्लबहरूको अस्तित्वलाई नै समाप्त पार्ने षडयन्त्र गरिएको आरोप लगाइएको छ । थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले फिफाको प्रचलनलाई बेवास्ता गरिएको तथा नेपाली फुटबलको मूलधारका क्लबलाई बेवास्ता गरिएको आरोप समेत लगाए । शिल्पकारले अझै पनि एन्फाले आफ्नो मागलाई सम्बोधन गर्ने कुरामा आशावादी रहेको तथा सुनुवाइ नभए क्लबहरूको सहमतिमै थप कार्यक्रमको तय गर्ने बताएका छन् ।
‘अखिल नेपाल फुटबल सङ्घको इतिहास नै हेर्ने हो भने पनि क्लबहरू पटक पटक एन्फा नेतृत्वबाट ठगिएका र पिल्सिएका छौँ । वर्तमान अवस्था नेपालको फुटबल र खेलाडी हितमा नरहेको पटक पटक एन्फा नेतृत्वलाई बुझाउँदा एन्फा पदाधिकारीहरूले आफ्नो गल्ती क्लबहरू सँगको बैठकमा स्वीकार गरेको थियो ,’ विज्ञप्तिमा उल्लेख छ । श्रोतका अनुसार मच्छिन्द्र क्लब, फ्रेन्ड्स क्लब र जाउलाखेल क्लबले बोर्ड बैठक बसेर यस बारेमा विस्तृत धारणा बनाउने भएका छन् ।
‘हामी सबैको लागि घोर आश्चर्यको विषय थियो । यति धेरै वर्ष सम्म उक्त सम्झौता सबैबाट लुकाएर राख्नु, एन्फा क्यालेन्डरमा रहेको राष्ट्रिय लीग गर्न नचाहनु, अहिले भइरहेको मोफसल प्रतियोगिताहरूलाई बेवास्ता गर्नु र एएफसी कपलाई समेत प्रभावित पार्ने खालका गतिविधि जस्ता धेरै कारणहरूबाट एन्फा नेतृत्वले चालेको कदम प्रति खेद प्रकट गर्दै नेपालको फुटबलको भविष्य प्रति हामी अत्यन्त चिन्तित छौ ।’
यस्तै क्लबले एन्फाबाट भएको त्रुटिका कारण भविष्यमा फुटबल खेल र खेलाडीहरूमा कुनै दुर्घटना नहोस् भन्ने कामना साथ  खेल, खेलाडी  र राष्ट्र प्रति सदा बफादार रही आफ्नो जिम्मेवारी र कर्तव्य पालनामा कायम रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Comment