सहिद स्मारक बी डिभिजनमा वीरगन्ज र खुमलटार विजयी
Manoj Shiama
9 March, 2022 10:44 pm
वीरगन्ज युनाइटेड र खुमलटार यूथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा बुधवार आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै तालिकामा तीन अङ्क जोडेका छन् । एन्फा मैदानमा सम्पन्न खेलमा वीरगन्ज युनाइटेड सामाजिक यूथ क्लब र खुमलटारले बाँसबारी क्लबमाथि समान १–० जित निकाल्दै तालिकामा तीन अङ्क जोड्न सफल भए ।वीरगन्ज युनाइटेडलाई सामाजिक यूथ क्लबविरुद्ध जित दिलाउन कृपा कान्त महतो थारूले ७१औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए । जितसँगै वीरगन्जले ३ खेलबाट ४ अङ्क जोडेको वीरगन्ज चौथो स्थानमा उक्लिएको छ । यता ३ खेलमा केवल १ अङ्क जोडेको सामाजिक यूथ १४ टिम सम्मिलित लिग तालिकाको पुछारमा पुगेको छ ।
बी डिभिजन लिग अन्तर्गत बुधवारै सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीविरुद्ध जित निकाल्न खुमलटारले ३०औँ मिनेटमा गरेको गोल निर्णायक भएको थियो । कप्तान सविन केसीले गोल गर्दै टोलीलाई पहिलो हाफमा दिलाएको अग्रता नै स्पष्ट तीन अङ्क जोड्नका लागि पर्याप्त भएको थियो । खुमलटारको जारी लिगमा यो दोस्रो जित हो ।
बी डिभिजन लिग अन्तर्गत दिनको तेस्रो खेलमा चर्च ब्वाईजले मध्यपुर यूथ एसोसिएसनलाई २–० गोल अन्तरले पराजित भयो ।
