उज्ज्वल भन्छन्,“चुस्त व्यवस्थापन र खेलाडीको लगनले हामी अघि बढ्दै छौ ”

सातदोबाटो यूथ क्लब झापा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशको क्रममा सातदोबाटोले सोमबार भएको खेलमा एपीएफलाई २–१ ले हरायो ।
८२ औ मिनेटमा सुशील राइको गोलमा अग्रता लिएको सातदोबाटोका लागि ८५ औ मिनेटमा नीरज चौधरीले गोल गरेका थिए । इन्जुरी समयमा दीपेश धिमालले गोल गरे ।
सुशील सो खेलका म्यान अफ द म्याच घोषित भए । जित पछि सातदोबाटोका प्रशिक्षक उज्ज्वल मानन्धरले टोलीका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । आफ्नो टोलीले हरेक खेलमा सुधार गर्दै आएकाले सेमिफाइनलमा अझ राम्रो खेल प्रदर्शन गर्नेमा आशावादी रहेको उनले बताए ।
गोलरक्षक प्रशिक्षकको रूपमा सातदोबाटोलाई यस सिजनका लिगमा प्रभाव जमाएका उज्ज्वल नियमित प्रशिक्षक मेघराज केसीको अनुपस्थितिमा टोलीको जिम्मेवारी सम्हाली रहेका छन् ।
ललितपुरको रैथाने क्लब यसै सिजनमा ए डिभिजनमा प्रवेश गरेको हो । ए डिभिजनमा प्रवेश गरेकै वर्ष प्राप्त सफलताले क्लब व्यवस्थापक समेत उत्साहित भएका छन् । प्रशिक्षक उज्ज्वल क्लबको चुस्त व्यवस्थापन  र खेलाडीको लगनका कारण टोलीले हरेक दिन सफलता पाइरहेको बताउँछन् ।
Comment