सङ्कटा क्वार्टर फाइनलमा

सङ्कटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै सङ्कटाले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।  बिर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा आइतबार भएको खेलमा सङ्कटाका उत्तम राईले ६५औँ मिनेटमा निर्णायक गोल गरे । उनले फोफोना फोडेको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।
आइतबारको खेलको म्याद अफ द म्याच विजेता टिम सङ्कटाका फोफोना फोडे घोषित भए । उनले ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । म्यान अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईँले प्रतियोगिताभर गरेका छन् । ३० फागुनसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार तथा  उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, रक्षक र  स्ट्राइकरले नगद २१ हजार रुपैयाँ पाउन छन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पाउने छन् । पाँचौँ संस्करणको झापा गोल्ड कपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो ।
प्रतियोगिताअन्तर्गत सोमबारको क्वाटर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो यूथ क्लबबिच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए । एपिएफ सोझै क्वाटर फाइनलमा पुगेको हो। सातदोबाटोले जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।
Comment