उज्ज्वलको प्रशिक्षणमा सातदोबाटोको यात्रा
Manoj Shiama
6 March, 2022 12:52 pm

नेपालमा उत्कृष्ट गोलरक्षक प्रशिक्षक उज्ज्वल मानन्धरको पूर्ण प्रशिक्षणमा सहभागी सातदोवाटो यूथ क्लब क्लब झापाको बिर्तामोडमा शनिवार सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल यूथ क्लबलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
टाई ब्रेकरमा जावलाखेलका लागि जुनियर र सुरज जीउ ठकुरीले गोल गरे । सातदोबाटोको गोलरक्षक अभिषेक बरालले राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार लाई विफल पारेका थिए । सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी अजयी मार्टिनले टाई ब्रेकरमा गोल गर्न सफल भए ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । नीरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे । खेलको १३ औँ मिनेटमा जावलाखेलले १–१ को बराबरी गोल गरेको थियो । निकोलस फर्नान्डेजको क्रसमा जुनियरले गोल गरे। खेलको ३५ औँ मिनेटमा जुनियरले दोस्रो गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ८ औँ मिनेटमा सातदोबाटोका आशिष् राईले गोल गर्दै खेल बराबरीमा पारे। नीरज चौधरीकै पासमा राई जावलाखेलका गोल रक्षक ईश्वर गुरुङ बिट हुँदा गोल गर्न सफल भए । पहिलो खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।
३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले१२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता छ । पाँचौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे। झापा गोल्ड कपका सदस्यसमेत रहेका ओलीले डोमालाल राजवंशी रङ्गशालाको विकासमा र खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।