खप्तड गोल्ड कपमा मनाङको विजयी सुरुवात

पाँचौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपमा मनाङ मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ । बिहीबार धनगढी रङ्गशालामा उद्घाटन खेलमा मनाङले भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराएको हो । जितसँगै मनाङले सेमिफाइनलमा प्रवेश गरेको छ ।
मनाङलाई जित दिलाउन अञ्जन विष्ट र विमल रानाले एक एक गोल गरे । दिल्लीका लागि कृष्णले गोल गरे । खेलको ६९ औँ मिनेटमा कृष्णले गोल गर्दै दिल्लीलाई सुरुआती अग्रता दिलाएका थिए । ७८ औँ मिनेटमा कप्तान अञ्जनले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ८० औँ मिनेटमा विमलले गोल गर्दै मनाङलाई २–१ को जित दिलाए ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भोलि शुक्रवार बागमती यूथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
Comment