भगवती क्लबलाई साधारण सभामा दोहोरो खुसी
Manoj Shiama
2 March, 2022 9:48 pm

काठमाडौँको प्राचीन सहर टोखा अवस्थित भगवती क्लबको ३१ औ औँ साधारण सभा सम्पन्न भएको छ ।
युवाहरूलाई खराब बाटोबाट सही मार्गमा हिँड्न अभिप्रेरित गर्ने उद्देश्यले २०४७ सालमा स्थापित क्लब सामाजिक र खेलकुद क्षेत्रमा उत्तिकै सक्रिय छ । क्लबले साधारण सभाको अवसरमा आफ्नो क्लबबाट विभिन्न समयमा खेल खेलेका पुराना खेलाडीहरूलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । टोखा नगरका मेयर प्रकाश अधिकारीले प्रशंसा पत्रबाट सम्मान गरेका थिए । यस्तै एन्फाद्वारा सञ्चालन गर्न लागिएको सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरूलाई खेल पोसाक तथा किट्स समेत प्रदान गरिएको थियो ।
नेपालकै पहिलो धावक एवं टोखा नगरका प्रधान पञ्चको रूपमा नेतृत्व गरिसकेका दिवङ्गत गजराज जोशीसँग जोडिएको क्लबले खेलकुदमा फुटबललाई पहिलो प्राथमिकता दिएको छ । डी डिभिजनबाट सी हुँदै बी डिभिजनमा पुगेको क्लबले दुई पटक उपबिजेताको रूपमा आफूलाई उभ्याउन सफल भएको छ । यस पटक क्लबले ए डिभिजनको यात्रा तय गर्ने लक्ष राखेको क्लबको अध्यक्ष इन्द्र राज जोशीले जानकारी गराए ।
यसैबिच, क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ । एन्फाको बी डिभिजन क्लबलाई प्रतियोगिताकाका लागि नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए । क्लबको ३१ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मेयर अधिकारीले आफ्नो कार्यकाल लम्बेको खण्डमा यस रकममा वृद्धि गरी अर्को वर्षदेखि ५० लाख सहयोग गर्ने समेत बताए ।यसका साथै क्लबलाई नगरपालिका भित्र रहेको ११ वडा मध्ये ४ र ५ वडा बाहेक अन्य वडाहरूले नगद तथा खेल पोसाकको सहयोग गरेको छ । समष्टिगत रूपमा भन्नु पर्दा सम्पूर्ण नगरपालिकाले टोखाको एक मात्र एन्फा बी डिभिजन क्लबलाई टोखा नगरकै अपनत्व प्रदान गरेको छ क्लबका अध्यक्ष इन्द्र राज जोशीले बताए ।
क्लबलाई बी डिभिजन प्रतियोगितामा सहभागिता तथा प्रतिस्पर्धाका लागि अन्य सङ्घ संस्थाले पनि सहयोग गरेको क्लबका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य रमेश नापितले जानकारी गराए ।
बुधवार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भगवती क्लबले सुखद सुरुवात गरेको छ । प्रतियोगिताकै पहिलो खेलमा झम्सिखेल क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
