नेपाल सुपर लिगमा २२ खेलाडी मार्की बनाउन मनोनयन

Manoj Shiama
20 February, 2022 9:59 pm
नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि २२ जना मार्की खेलाडीका लागि मनोनयन गरिएका छन् ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत एन्फाको प्राविधिक टिमसँगको परामर्शमा मार्की खेलाडी चयन गरिएको बताइएको छ ।
प्रतियोगिताको दोस्रो संस्करणका लागि आयोजकले तीन नयाँ टोली थप गरेको छ । यसअघि सात टोलीले प्रतिस्पर्धा गरेका थिए । यस सिजन स्पोर्टिङ इलाम मेची, झापा एफसी र वीरगन्ज युनाइटेड गरी तीन टोली थपिएको हो ।
गत वैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौँ रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।
प्रतियोगितामा दस फ्रेन्चाइज टिमले दस खेलाडीलाई मार्की प्लेयरका लागि राख्नेछन् । मार्की प्लेयरका लागि नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेमजोङ, अञ्जन विष्ट, विशाल राई, विकेश कुथु, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रजिन धिमाल, अभिषेक रिजाल, अनन्त तामाङ, सुजल श्रेष्ठ, रोहित चन्द, विमल घर्ती मगर, दिनेश राजवंशी, तेज तामाङ, सुनिल बल, मनिष डाँगी, पूजन उपरकोटी, सुमन अर्याल, जगजित श्रेष्ठ, विक्रम लामा, सुनिल लामा, देवेन्द्र तामाङलाई चयन गरिएको छ ।