जोरपाटी डोजो टिम च्याम्पियन


नेपाल गोजु काई कराँते सङ्घले आयोजना गरेको उमा खुला कराँते प्रतियोगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ ।
चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मङ्गलवार सम्पन्न प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ कांस्य जितेर च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो उपविजेता भएको छ । ३ स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भयो ।
प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ११ स्वर्ण पदकको छिनोफानो भएको थियो । कातातर्फ पुरुषमा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी इसा वाइबाले स्वर्ण जितिन् ।
महिला ४० केजीमुनि तौल समूहमा मानसिंह डोजोकी सविना तामाङले स्वर्ण जितिन् । उनले फाइनल गोठाटार डोजोकी रोनिशा खड्कालाई पराजित गरिन् ।
महिला ४५ केजीमुनि तौल समूहमा शंखडोलकी अनिता तामाङले तोयोकान एकेडेमीकी शिखा बजगाईँलाई हराएर स्वर्ण जितिन् । साउथ भ्यालीकी नवीना डिम्डुङले महिला ५० केजीमा स्वर्ण जितिन् । उनले फाइनलमा मित्र पार्क डोजोकी सुदीना पाख्रिनलाई पराजित गरेकी हुन् ।
महिला ५५ केजीमा शंखडोलकी युनिका राईले नेपाल हायसी–हा एकेडेमीकी निरुता श्रेष्ठलाई हराएर स्वर्ण जितिन् । महिला ६० केजीमा मानसिंहकी प्रविना गुरुङले स्वर्ण जित्ने क्रममा नागार्जुन डोजोकी उर्शला पहारलाई पराजित गरिन् । महिला खुलातर्फको स्वर्ण अस्मिता प्रजाले जितिन् । उनी जोरपाटी डोजोकी हुन् । फाइनलमा उनले साउथ भ्यालीकी कोपिला लिम्बुलाई पराजित गरिन् ।
पुरुष ५५ केजीमुनि तौल समूहमा जोरपाटी डोजोका विशाल केसीले स्वर्ण जिते । उनले फाइनलमा मानसिंहका सुदीन सुनारलाई पराजित गरेका हुन् । पुरुषको ६० केजीतर्फ जोरपाटीका सुजन राईले गोठाटारका राजीव त्रिपाठीलाई हराएर स्वर्ण जिते । पुरुष खुलातर्फ भने गोठाटारका रविन त्रिपाठीले मानसिंहका पारस तामाङलाई पराजित गरी स्वर्ण   जिते ।
बाँकी स्पर्धाको फाइनल खेल सोमबार नै सम्पन्न भएको थियो । पुरुषतर्फ ३० केजीमुनि तौल समूहमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि तौल समूहमा स्वर्ण जितेकी मानसिंहकी सविना तामाङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिए । उनीहरू दुवैले गोजु काई कराँते सङ्घका उपाध्यक्ष जनार्दन उप्रेतीको प्रायोजनमा ८–८ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए ।
प्रतियोगितामा नेपाली काँग्रेसका महामन्त्री तथा सङ्घीय सांसद गगन थापा, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, आयोजक सङ्घका अध्यक्ष अशुराज श्रेष्ठलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । काठमाडौँ महानगरपालिकाको मुख्य प्रायोजनमा २ दिनसम्म आयोजित प्रतियोगितामा २० जिल्ला तथा डोजोहरुबाट २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा सङ्घका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिए । कार्यक्रममै प्रमुख अतिथि गगन थापाले कार्यक्रम संयोजक उप्रेतीलाई वुमा कराँतेको मुख्यालय लन्डनबाट सम्बन्धनप्राप्त प्रमाणपत्र र पाँचौँ डानको प्रमाणपत्र प्रदान गरिएको थियो ।

Comment