श्रीलङ्का विरुद्ध आधा दर्जन गोल गर्दै नेपाल शीर्षस्थानमा

श्रीलङ्का विरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यु–१९ महिला साफ च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । बुधवार बङ्गलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलङ्कालाई ६–० अन्तरले पराजित गरेको हो ।
श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल थपेको हो । नेपालको पहिलो जितमा फरवार्ड रश्मिकुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सविता राना मगर, रजनी थोकर, मेनुका आले मगर र सलोनी राना मगरले एक एक गोल गरे ।
खेलको पाँच मिनेटै रश्मिले नेपाललाई सुरुवाती अग्रता दिलाइन् । त्यसको एक मिनेट बित्न नपाउँदै सविता राना मगरले दोहोरो अग्रता बनाइन् । मेनुका आले मगरले ४३ मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले ३–० को अग्रता बनायो ।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै फरवार्ड रजनी थोकरले नेपाललाई ४–० को स्थितिमा लैजान सफल भइन्  ।  सलोनी राना मगरले ५३ औँ मिनेटमा छैटौँ गोल गरिन् । खेलको ८५ मिनेटमा रश्मिले फ्रि किकमा गोल गर्दै नेपाललाई ६–० अन्तरको जित दिलाइन् ।
नेपालले सुरुवाती मिनेटबाटै श्रीलङ्कालाई दबाबमा राखेको थियो । अधिकांश समय श्रीलङ्काको बक्समा बल राखेको नेपालले केही राम्रो अवसरसमेत गुमाएको थियो ।
जितसँगै नेपालले आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ । यसअघि नेपाल पहिलो खेलमा आयोजक बङ्गलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
जितसँगै नेपाल दुई खेलबाट चार अङ्क बनाउँदै शीर्षस्थानमा उक्लिएको छ । आयोजक बङ्गलादेश समान चार अङ्क भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।
पराजित श्रीलङ्का भने एक खेलअघि नै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । उसले तीन खेलबाट कुनै पनि अङ्क जोड्न सकेको छैन र  १६  गोल व्यहोरेको छ ।
यता, एक खेलबाट ३ अङ्क जोडेको भारत तेस्रो स्थानमा रहँदा खेलबाट तीन अङ्क बनाएको भुटान चौथो स्थानमा छ । श्रीलङ्का भने पुछारमा छ ।
अब, नेपालले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा शुक्रवार भुटानको सामना गर्नेछ ।
Comment